• ज्ञानमणि नेपाल कालोटोपी
चण्डेनीमण्डन, काभ्रे ।
हुन त त्यहि गाउँमा बस्छन्, काम गर्छन् र जीवन निर्वाह गरिरहेका छन् उनीहरुले । ०७२ सालको विनासकारी भुकम्पले पुरै गाउँ खण्डहर बनाईदिएको छ । भूकम्पमा १० जना सदस्य गुमाए, थुप्रै घाइते पनि भए । सग्ला घर केहि बाँकी छैनन् । तरपनि उनीहरुलाई आफ्नो पहिलेको गाउँ हेर्ने रहर अझै उतिकै छ । हुन त पुरानो गाउँ हेरौं भनेर अब पाईंदैन तर उनीहरुको पुरानो गाउँ हेर्न सकिने माध्ययम चाहिँ बाँकी छ । त्यसैले आफ्नो गाउँ हेर्न खोजिरहेका छन् । वर्षौं भईसक्यो आफ्नो गाउँ एकपटक धक फुकाएर हेर्न पाएका छैनन् । धेरैलाई भनिसके, अनि आश्वासन पनि पाए तर खोई किन हो उनीहरुको वास्तविक आवाज सुन्ने यतिखेरसम्म कोही पनि भेटिएका छैनन् ।
आजभन्दा करिव २४ वर्ष अगाडि नेपाल टेलिभिजनबाट धाराबाहिकरुपमा प्रशारित चर्चित टेलिचलचित्र अविरल बग्दछ इन्द्रावती निर्माण गरिएको काभे्रको मण्डनदेउपुर १०, चण्डेनीमण्डन र सिन्धुपाल्चोकको भीमटारका माझी समुदायले अहिलेसम्म त्यो टेलिचलचित्रलाई मन फुकाएर हेर्न पाएका छैनन् । साहित्यकार स्व.रमेश विकलले २०४० सालतिर काभे्रको चण्डेनीमण्डन तथा सिन्धुपाल्चोक जिल्लाको भीमटारका माझी समुदायको वास्तविक कथालाई उतारेर अविरल बग्दछ इन्द्रावती नामको उपन्यास लेखेका थिए । ०५७ सालमा यही उपन्यासको कथालाई आधार बनाएर सो टेलिचलचित्र बनाइएको थियो । यसको सम्पूर्ण छायांकन पनि यही माझीगाउँ तथा इन्द्रावती नदी किनारामा गरिएको थियो । आफ्नै गाउँको कथा र दृष्य समेटिएकाले यहाँका माझीहरुले यस टेलिचलचित्रलाई एक पटक मात्र भएपनि हेर्न चाहेका थिए तर अहिलेसम्म उनीहरुको इच्छा पूरा हुन सकेको छैन ।
नेपाल टेलिभिजनबाट सो टेलिचलचित्र प्रशारण भइरहेको समयमा गाउँमा विजुलीको सुविधा थिएन । जसका कारण त्यहाँ टेलिभिजन भएका घरहरु नगन्य मात्रामा थिए । कसै–कसैले सोलारबाट चलाउने उद्देश्यले टेलिभिजन राखेका भएपनि आर्थिक विपन्नताका कारण माझी समुदायहरुका लागि यो सम्भव थिएन । पछि पटक–पटक टेलिभिजनले यसलाई प्रशारण गरेपनि यहाँका माझीहरु यसलाई हेर्नबाट वञ्चित नै छन्, अहिलेसम्म पनि । विगत १८ वर्षदेखि गाउँमा विजुलीको सुविधा पुगेको छ । गाउँका केही व्यक्तिले आफ्नै घरमा टेलिभिजन पनि राखेका छन् । तर आफ्नै गाउँको कथा भएको सो टेलिचलचित्र हेर्न उनीहरुसँग कुनै उपाय छैन । स्थानीयवासी मैते माझी भन्छन्–“नौला–नौला मान्छे आए । ठूल्ठूला क्यामेरा देखाए, फोटो खिचे । टिभीमा आउँछ त भन्थे तर खोई किन हो आउँदा पनि आएन, हेर्न नि पाईएन । “एक पटक जसरी भएपनि टिभीको पर्दामा आफ्नो गाउँ हेर्न पाउँ ।” उनको आग्रह छ ।
परापूर्वकालदेखि नै सामाजिक, आर्थिक, राजनीतिक तथा शैक्षिक क्षेत्रमा पनि पछि परेका यहाँका माझीहरुलाई त्यतिखेर धेरै समस्याहरु थियो । बिहान–बेलुकाको छाक टार्न पनि ज्यादै धौ–धौ पर्ने अवस्था थियो । यति मात्र होइन, सामान्य घर खर्च चलाउनसमेत सम्पूर्ण घर जग्गा साहुकोमा धितो राखेर ऋण लिनु पर्ने अवस्था थियो । ०४० सालसम्म नै यस्तो अवस्थामा रहेका माझीहरुको वास्तविकतालाई कथाकार विकलले अत्यन्तै रोचक पारामा आफ्नो उपन्यासमा उतारेका थिए । यही उपन्यासलाई द्वारीका फिल्मस्ले टेलिफिल्मको रुपमा सबै सामु छर्लङ्ग पारीदियो । पछि यसलाई ठूलो पर्दाको फिल्म नै बनाइयो । यसमा राष्ट्रियरुपमा  ख्याती प्राप्त कलाकारहरु रवि गिरी, उपेन्द्र तिमल्सिना, रजनी राना, लोकमणि सापकोटा, बद्री अधिकारी, गणेश मुनाल, विष्णुभक्त फुँयाल लगायत स्थानीय कलाकारहरुले पनि विभिन्न भूमिकामा अभिनय गरेका थिए । यसमा अभिनय गरेका केही कलाकारको निधनसमेत भइसक्यो ।
शुरुमा ४३ भागसम्मको सानो पर्दाका रुपमा निर्माण गरिएको भएपनि यसलाई पछि ठूलो पर्दाको रुपमा पनि निर्माण गरिएको थियो । यसमा देखाइएका पात्रहरु शोभिते, लालगेडी, भुमा, काजी, खिनौरी आदि यस गाउँका प्रतिनिधी पात्र भएको र पुरै वास्तविकता जस्तैगरि प्रस्तुत गरिएकाले सबैका लागि त्यतिखेर अविरल बग्दछ इन्द्रावती चर्चित बनेको  थियो । ‘त्यसैले त हामीले यसलाई अहिले पनि हेर्न खोजिरहेका छौं ।’ स्थानीय युवा राजकुमार माझी भन्छन् –“निर्माण पक्षले कुनै विकल्प अपनाएर भएपनि हाम्रो मागलाई सुनिदिनु पर्छ ।” पुनः टेलिभिजनबाट यसलाई प्रशारण गर्न सम्भव नभए, डिभिडि तथा सिडी वा पेनड्राइभमा कपि गरेरै भएपनि अविरल बग्दछ इन्द्रावती आफूहरुलाई उपलब्ध गराउनु पर्ने उनको माग छ ।
यससम्बन्धमा सो टेलिचलचित्रका निर्देशक बद्री अधिकारीले यो अहिले नेपाल टेलिभिजनको सम्पती भइसकेकाले तत्कालै सिडी अथवा डिभिडिमा कपि गरेर उपलब्ध गराउन नसकिने बरु समय अनुकुल बनाएर पुनः प्रशारणका लागि टेलिभिजनलाई अनुरोध गरेरै भएपनि उनीहरुको मागलाई सकेसम्म पूरा गराउन आफू लागि पर्ने बताएका छन् । उनी भन्छन्–“यसले त्यहाँका माझीहरु स्थानीय साहु र काजीहरुबाट कसरी हेपिएका थिए भन्ने यथार्थलाई उजागर गरेको भएपनि उनीहरुलाई देखाउन नसक्दा अत्यन्तै दुःख लागेको छ । म यस कुरालाई ध्यान दिएर त्यहाँका ५ सयभन्दा वढी माझीहरुको आवाजलाई एकपटक टेलिभिजनसमक्ष पुर्याउन प्रयास गर्नेछु ।”
फोटो : टेलिचलचित्र ‘अविरल बग्दछ इन्द्रावती’ मा समेटिएको काभ्रेको चण्डेनीमण्डन स्थित माझीगाउँ  भूकम्प पहिले र अहिले । र टेलिचलचित्रको एक दृष्यमा अभिनय गर्दै माझी पात्र लालगेडी र भुमा । 
तस्विरः लेखक

Leave a Reply

Your email address will not be published. Required fields are marked *