– विश्व उलक, पनौती, काभ्रेपलाञ्चोक
बहीः र बहाः संस्कृतिको प्रारम्भ कहिलेदेखि भयो भन्ने स्पष्ट प्रमाण नभए पनि, यी संरचनाहरू केवल पूजा–अर्चनाका केन्द्रमा सीमित थिएनन् बरु ती उच्चस्तरीय शैक्षिक संस्थाका रूपमा विकसित भएका थिए, जहाँ दर्शन, व्याकरण, ज्योतिष, आयुर्वेद, कला, वास्तुकला तथा ध्यान–योगजस्ता विविध विषयहरूको अध्ययन–अध्यापन हुन्थ्यो । गुरु–शिष्य परम्परामा आधारित यी संस्थाहरूले ज्ञान प्रदान गर्नुका साथै अनुशासन, नैतिकता र करुणामय जीवनशैली विकास गर्ने गर्दथे । यो प्रथा कहिले देखी सुरुभयो एकिन गर्न गमह्रो छ तर, लिच्छवी तथा मल्लकालमा बहीः र बहाःहरूको सुव्यवस्थित व्यवस्थापन भएको पाइन्छ, र यस्ता सांस्कृतिक तथा शैक्षिक केन्द्रहरूको संरक्षण तथा प्रवद्र्धनका कारण उक्त कालखण्डलाई नेपालको इतिहासमा ‘स्वर्णयुग’को रूपमा व्याख्या गरिन्छ, जसले समृद्ध सभ्यता, गहिरो ज्ञान परम्परा र उच्च सांस्कृतिक चेतनाको परिचय दिएको छ ।
पवित्र भूमिमा निर्मित पाञ्चाल दरबारको ऐतिहासिक पृष्ठभूमि अत्यन्तै गौरवशाली तथा रहस्यमय मानिन्छ । करिब ६००० वर्षअघि रानी सत्यवतीको कोषबाट करुणाका प्रतीक महासत्वको जन्म यही दरबारमा भएको उल्लेख पाइन्छ, तर राजा महारथका सन्तती वा अन्य कुनै वंशका राजाहरूले यस दरबारमा कति समयसम्म शासन गरे भन्ने विषयमा इतिहास मौन देखिन्छ । यस सन्दर्भमा एउटा महत्वपूर्ण प्रश्न उठ्छ—के यही पवित्र स्थल, जसलाई करुणाको खानीका रूपमा लिइन्छ, प्रतिभाहरूको प्रस्फुटनका लागि शैक्षिक केन्द्रका रूपमा पनि विकास गरिएको थियो ? प्रश्न रहेकोछ ।
पाञ्चाल दरवार
बौद्घ जातककथा, स्थानीय किंबदन्ती तथा परापूर्वकालदेखि चलिआएको संस्कृती, संस्कारस्वरुप निरन्तरता पाएको पुजा, ध्यान, मेला पर्व आदिले आजभन्दा करिव छ हजार बर्ष पहिलेको घटना स्मरण गराउँछ । करिव ६००० बर्ष पहिले करिव ५००० जनसंख्या बसोवास भएको पाञ्चाल नगरीमा दिर्घरथका सन्तती महारथले राज्य गर्दथे । पाञ्चाल देशको दरवार हालको पनौती शहर बाट उत्तर–पश्चिम, द्यो लाः (जेलाँ च्याती, टौखाल) मा रहेको थियो । यस नगरीका राजा महारथ थिए । यहि पवित्र भूमीमा रहेको दरवारमा दया र करुणाका मूर्ति रानी सत्यावतीको कोखबाट कान्छा राजकुमार महासत्व जन्मनु भयो । राजकुमार महासत्व एक दयालु, सहृदय र विवेकी राजकुमार थिए । उनी सानैदेखि सबै जीवप्रति माया र करुणा राख्थे । उनको स्वभावमा अहंकार, लोभ वा हिंसाको कुनै स्थान थिएन । महलको सुख–सुविधामा हुर्किए पनि उनले जीवनको वास्तविक अर्थ बुझ्न खोजिरहेका थिए । उनका लागि ठाँटबाटयुक्त राजसी जीवनभन्दा प्राणीमात्रको कल्याण अर्थात परोपकार महत्वपूर्ण थियो ।
एकदिन शिकार खेल्न गएका राजकुमार अभयदानबाट निर्वाणभएको शोकबाट बिह्वल राजदम्पती छोराले बुद्धत्व प्राप्तगरेको हिरण्य गन्धमान पर्वतको फेदीमा रहेको कङ्कमणि (शंखेश्वरी खोला) तिर्थमा आएर ध्यानमा बसे र त्यही दुवैले इहलीला समाप्त गरे । ती राजारानीको सम्झनामा किराँतकालिन शैलीमा खुल्ला “शंखेश्वरी” मन्दिर स्थापना भएको भनिन्छ ।
पाञ्चालमा महारथ पछीको राजा महादेव वा महाप्रणव हुन सक्दछन् तर उनिहरु पश्चात को राजाभए र राज्य कसरी सञ्चालन भयो भत्रेबारे कथा, किंवदन्ति र इतिहास मौन छ ।

भगवान बहाः
पाञ्चाल दरवार अर्थात राजकुमार महासत्वको जन्मगृह कहिले देखिन बहाः अर्थात शैक्षिक केन्द्रमा परिवर्तन भयो अध्ययन, अनुसन्धानको पाटो रह््यो । पाञ्चाल देश कहिले देखी नेपाल एकिकरण भित्रगयो, हुनसक्छ किरातकालबाट ? किनकी किरातकालमा पाञ्चाल (पनौती) को नाम आउँदैन । काठमाण्डौ, शोभा भगवतीमा प्राप्त किंवदन्ति अनुसार मञ्जुश्रीले कालीदहको पानी निकालिदिएपछि, स्वयम्भूको काख, भचाखुसी र बिष्णुमती नदीको दोभान, निर्मल तीर्र्थ (कर्णद्विप) नजिक तत्कालीन समयमा पाञ्चाल दे (पनौती) बाट आफ्ना शिष्यहरु सहित आएका बज्रनाद गुभाजु (बज्राचार्य) ले ध्यान शक्तिले बालुवाबाट चैत्य निर्माण गरी स्वयम्भूलाई स्थापना गरी स्वांःबहा बनाएका थिए । बौद्धमार्गीबाट स्थापित स्वाँ (पूmल) बहामा निर्मित दुई धर्मका बौद्ध चैत्य र शोभा भगवतीको स्तुतिमा कमी नहोस भनी पूर्खाहरूले ढोकामा दुवै भगवानसँग सम्बन्धित स्तुती अङ्कित गर्नु भएको छ ः “ॐ, ह्री, स्वां, भगवत्यैय नमः” । बहाल भत्राले बुद्ध धर्मसँग सम्बन्धित रहेता पनि स्वाँ बहाःमा माता भगवती नै रहेको देखिन्छ । भगवतीको ठ्याक्कै पछाडिपट्टि उक्त चैत्य रहेको छ । हाल आएर उक्त चैत्य संरक्षणको लागी सिमेन्ट र ईटा प्रयोग गरिएको छ भनै कसैले ढुंगाको छपनी हालिदिदा अशोभनिय देखिएको छ ।
अर्को कथनअनुसार उक्त स्वांःबहामा निर्मित चिवा द्योले राम्रो प्रचार पाएको थियो । आठौं शताद्विमा बौद्घ सम्पदाहरु आक्रामक गुरु शंकराचार्यको निशानीमा परे । शंकराचार्यको कार्यकर्ताले चैत्य भत्काउन खोज्दा चैत्यबाट भगवती निस्केर बिध्वंशकारीहरु खेदिए पनि भनिन्छ ।
बौद्घमार्गीहरु दुई शब्द प्रयोग गर्दछन “ॐ” पुजा वा प्रार्थनाहरुमा र एक व्यक्तिले अर्को व्यक्ति वा मन्दिर भेटमा दुई हात जोडेर “भगवान शर्ण” उच्चारण गर्दछन । यो दुवै शब्द एकप्रकारको फिजियोथेरापी जस्तै हो । “भगवान शर्ण” रुपी अभिवादनको सुरुवात नःम बुद्घको सम्मानमा कतै पाञ्चाल (पनौती) बाट नै सुरु भएको त होइन, खोजी गर्नुपर्ने देखिन्छ ।
लिच्छवीकालमा बहाः, बहीलाई शैक्षिक केन्द्रको रुपमा सञ्चालन गरिएको थियो । बही भनेको अहिलेको बिद्यालय र बहाः भत्राले उच्च शैक्षिक संस्था हालको क्याम्पस जस्तै थियो । दरवार भएर हो वा पवित्र भूमीको कारणले उच्च शैक्षिक संस्था बहाः बनाए ।
माथीको तत्थ्यबाट के देखिन्छ भने शोभा भगवती उदय स्वाँ बहाःमा भएको र भगवतीको स्थापना पाँचौ शताद्विमा भएको हँुदा बज्रनाद गुभाजु पाँचौ शताद्वि अगाडी नै कर्णद्विप पुगे । यस्ले के प्रष्ट्याउदछ भने भगवान बहाः किरातकाल वा सो अगावै त थिएन ?
अफसोच भगवान बहाः हाम्रो सामु छैन । यस्को पछाडी आठौं शताद्विमा गुरु शंकराचार्यको बौद्घ सम्पदा र सम्प्रदाय माथीको आक्रमणको अभियानमा तराईबाट गोवा भञ््याङ्ग हुँदै कुर्पासीको कैलाश र अमिताभ चैत्य बिध्वंस गरेपछि दोश्रो शिकारमा भगवान बहाः नष्ट गरेको हो ? खोजिको बिषय रहेकोछ ।
न्हुँ बहाः
न्हु बहाः भत्राले नयाँ बहाः भत्रे बुझाउँदछ । यस्ले पनौतीमा पहिलै वा अर्को बहाः छ वा थियो भत्रे प्रष्ट्याउँछ । किंबदन्ति, कथा र इतिहास अनुसार अर्को बहाः भनेको द्यो लाःमा अवस्थित भगवान बहाः मात्र हो । द्यो लाःको सम्बन्धमा पनि अस्पष्टता छ । सिद्घार्थ गौतम बुद्घ, हिरण्य गन्धमान पर्वत अवस्थित नःम बुद्घको समाधी दर्शणको क्रममा प्रयाग गर्नु भएको बाटो हो कि अन्य देव देवी जस्तै हरिसिद्घि, नवदुर्गा आदी पनौती यात्राको लागी प्रयोग हुने भएर हो ? खोजिको बिषय रहेको छ ।
लिच्छवीकालीन सभ्यतामा पनौतीसँगको सम्बन्ध र चासो केवल लोककथामा सीमित छैन, बरु ऐतिहासिक घटनाहरूले पनि त्यसलाई बलियो आधार प्रदान गर्छ । राजा नरेन्द्रदेवद्वारा मच्छेन्द्रनाथ ल्याउन, धनञ्जय वासुकी नागराज लिनगएको प्रसंग, तथा राजा शंकरदेवकी छोरी बिरवा देवीद्वारा इन्द्रेश्वर शिवलिङ्गको स्थापना जस्ता घटनाहरूले पनौतीको धार्मिक– सांस्कृतिक महत्वलाई स्पष्ट रूपमा उजागर गर्छ । बौद्ध–हिन्दू सहअस्तित्वको प्रतिनिधित्व गर्ने लिच्छवी शासकहरूले समाज विकासमा शिक्षाको भूमिका बुझ्दै, नष्ट भएको ‘भगवान बहाः’को स्थानमा पनौतीको वला छेः टोलमा ‘न्हु बहाः’ निर्माण गराएको हुनसक्ने अनुमान पनि सान्दर्भिक देखिन्छ । अर्काेतर्फ, तेह्रौँ शताब्दीमा दिल्लीका सुल्तान गयासुद्दीन तुघलकको आक्रमणपछि सिम्रौनगढबाट तुलजा भवानी बोकी भागेर आएका कर्णाटकीय राजा हरिसिंह देवको टोली एकै दिनमा पनौतीको दुमाङ्गमा बास बसेको जनश्रुति पाइन्छ । पनौतीमा प्रचलित भजनमा “छनुंङ सिमाङ्गं, दुमाङ्ग” ले एउटा त्यहाँ धेरैजना बस्नसक्ने बासस्थान थियो भत्रे अर्थ जनाउँछ । यस्ले के स्पष्टता दिन्छ भने राजा हरिसिंह देवको फौज न्हु बहाःमा बास बसेका थिए । तुलजा भवानीले बास बसेर नै होला पनौती कुमारी पुजाको प्रथा रह््यो ? राजा सहितको फौज दुमाङ्गमा बासबस्दा, ठूलो संख्यामा मानिस अट्ने आवास वा पाटीको अस्तित्वलाई संकेत गर्छ । यस्तो संरचना ‘न्हु बहाः’ नै थियो वा अन्य कुनै सार्वजनिक आवासीय संरचना—यो विषय अझै गहन अध्ययन र अनुसन्धानको अपेक्षा राख्दछ ।
साँस्कृतिक, धार्मिक र सामाजिक मूल्यका सशक्त संवाहक लिच्छवी÷मल्ल शासकहरू आफू सनातन (हिन्दू) परम्पराका आस्थावान भए पनि बौद्ध सम्पदा र संस्कृतिप्रति उल्लेखनीय सहिष्णुता र आदर राख्ने शासकका रूपमा चिनिन्छन् । यही सन्दर्भमा भगवान बहाःको ऐतिहासिक र आध्यात्मिक महत्वलाई आत्मसात गर्दै लिच्छवी वा मल्लहरूले ‘न्हु बहाः’ निर्माण गरेका हुनसक्ने तर्क पनि सान्दर्भिक देखिन्छ ।
राजा शक्तिसिंहले पलाञ्चोकमा बसेर राज्यगर्दा जयराम बर्धने, बनेपा, पनौती क्षेत्रका सामन्त थिए र उनको शासनको सुरुवात न्हु बहाःमा बसेर भएको र दुमाङ्ग तर्फ दरवार निर्माण गरेको हुनु पर्दछ । सोह्रौँ शताब्दीमा भक्तपुरका राजा भूपतेन्द्र मल्लले आफ्नो जीवनरक्षामा महत्वपूर्ण भूमिका खेलेको पनौती प्रति गहिरो माया र कृतज्ञता व्यक्त गर्दै विशेष उपहार प्रदान गरेका थिए । त्यो थियो, तेह्रौँ शताद्वीमा जयराम बर्धनेले निर्माण गरेको दरबारलाई, भक्तपुर दरबारको शैलीमा सानो तर आकर्षक स्वरूपमा पुनःसंरचना गरिएको थियो । यस पुनर्निर्माणमा नौ वटा चोक र अष्टमातृकासँग जोडिएको सुव्यवस्थित शहरको स्वरूप तयार पारियो । उक्त सुन्दर र सांस्कृतिक रूपमा समृद्ध नगरलाई उनले आफ्नी बहिनी गंगालक्ष्मीलाई दाइजोको रूपमा अर्पण गरेका थिए, जसले त्यस समयको कला, वास्तुकला र पारिवारिक सम्बन्धको महत्वलाई झल्काउँछ । गंगालक्ष्मी मल्लकै पाला देखिन पनौतीमा कुशे औशी नजिक किन नःम बुद्व जात्रा चलाए सोधको बिषय रहेको छ ? महासत्वको पिता प्रतिको प्रेम ?
शाहकाल भित्रको राणा शासन अवधिमा बौद्ध सम्पदा र संस्कृतिमाथि नियन्त्रण वा उपेक्षाको प्रवृत्ति देखिएको ऐतिहासिक सन्दर्भ पाइन्छ । यही क्रममा न्हु बहाःमाथि प्रतिबन्ध लगाइनु, तथा संरक्षण अभावका कारण बहाः क्षेत्र क्रमशः बेवारिसे भई अतिक्रमणमा परेको हुनसक्ने आशंका उठ्छ । यी विषयहरू केवल अनुमानमै सीमित नराखी, ऐतिहासिक स्रोत, पुरातात्त्विक प्रमाण र स्थानीय परम्पराको आधारमा गहिरो अध्ययन, अनुसन्धान र तथ्यगत अन्वेषण गर्नु आजको अपरिहार्य आवश्यकता हो । द्यो छेः क्षेत्रमा संकुचन गरिएको न्हु बहाःको क्षेत्रफल वर्तमान अवस्थाभन्दा निकै विशाल रहेको संकेत सोह्रखुट्टे नजिक अवस्थित चैत्यबाट समेत स्पष्ट रूपमा देखिन्छ । यसले न्हु बहाःको विगतको व्यापकता, सांस्कृतिक महत्व र ऐतिहासिक गरिमालाई उजागर गर्दछ । त्यसैले, यसको वास्तविक स्वरूप र इतिहासबारे गहिरो अध्ययन तथा खोजी गर्नु अत्यन्त आवश्यक र उचित देखिन्छ, जसले यस सम्पदाको महत्वलाई अझ प्रस्ट पार्न मद्दत र्पुयाउनेछ ।
पलाःती दे
इस्वी सम्बत १२५५ जुलाई ७ तारिखको दिन काठमाण्डौ केन्द्रबिन्दु भएर ७.८ रेक्टरको भूकम्प गएको थियो । त्यो भूकम्पले नःम बुद्घको जन्मभूमी पाञ्चाल नगरीमा पनि विध्वंश मच्चायो । ठूलो बिनास ग¥यो । भूकम्प लगट्टै उडुस आतङ्कले पराकाष्ट नाध्यो, मानव बस्न नहुने शहर बन्यो । जलवायु पविर्तनको प्रभावले पाञ्चाल नगरी खण्डहरको बाटोमा लाग्यो । त्यो बस्तिलाई तेह्रौं शताब्दिमा अर्थात आजभन्दा करिव ८०० बर्ष पहिले सन् १२६० तिर मल्लराजा अनन्द देवको पालामा त्रिवेणीको नजिक आदर्श नगरीको परिकल्पनामा ७०० धुरीको योजना सहित स्थानको नाम “पलाःती” राखेर बस्ति सार्ने काम भयो । खण्डहर पाञ्चाल नगरीमा सिञ्चाइ सुविधा हुँदा खेती गर्न सुरु गरियो । खण्डहर शहर खेतीमा परिणत भयो । भगवान बहाः (दरवार क्षेत्र) भने खेत नगरी आस्थाको केन्द्रको रुपमा राखियो । हिरण्यगन्धमान पर्वतस्थित नःम बुद्घको समाधीमा दर्शनको लागी आउने भक्तजनहरुले राजकुमार महासत्वको जन्मक्षेत्र पवित्र पुण्यभूमी भगवान बहाःमा ध्यू को दीप अर्पण गर्ने चलन यथावत नै रह््यो । यहाँ केही बुद्घसम्पदाका अवशेषहरु पनि थिए । सिद्घार्थ गौतम बुद्घ, हिरण्य गन्धमान पर्वत जाने बेला हो वा फर्कने बेलामा भगवान बहाः, बाँसडोलको बाटो प्रयोग भएको क्षेत्रलाई द्यो लाँः भनिएको थियो ? मेला पर्व तथा आफ्ना पूर्वजहरुको तिथीहरुमा पुजा अर्चना सहित ध्यूबत्ती चढाउँथे । भगवान बहालमा केही दशक अगाडीसम्म पनि देश–बिदेशबाट बत्ती दिनआउने चलन थियो । प्रचार प्रसारको कमी तथा स्थानीयहरुमा अपनत्वको भावना नआउँदा बत्ती दिनआउनेहरुको संख्यामा ह्रास आउदै गयो । माओबादी सशस्त्र द्वन्दले यस्तो पवित्रकार्यमा पूर्णबिराम लगाइदियो । नःम बुद्घका द्योतकहरुले उक्त बहालको स्वामित्वमा कुनै चासो नराखेपछि उक्त स्थान भगवान डाँडा नाममा परिणत भयो । पनौती नगरपालिकाको उदयले नगरपालिका भित्रका सार्वजनिक जग्गा तथा रोसी र पद्मावती खोलाका ऐतिहासिक सम्पदा विनासको साथमा माओवादीहरुले बसपार्क स्थित नगरपालिका भवनलाई बमप्रहार गरि ध्वस्तपारे पछि ऐतिहासिक महत्वको ख्याल नै नगरी भगवान डाँडामा सम्झनाको लागी सिमेन्टको सानो चैत्य बनाइ नगरपालिकाले कार्यालय भवन बनाइयो । हुनत दरबार एउटा प्रशासकिय केन्द्र हो । समयसापेक्ष नगरपालिका भवन बत्रु राम्रो हो, तर उक्त भवनको आवरणलाई ऐतिहासिक दरबारको मौलिकता दिनसके महामानव राजकुमार महासत्व प्रति सम्मान र उनको योगदान प्रति न्याय हुने थियो ।
दया र करुणाको कामना
हिरण्य गन्धमान पर्वतको काखामा रहेको राजकुमार महासत्वको समाधी (आमाको मन्दिर) मा बुधवारका दिन अभयदान दिएको भत्रे बिश्वास अनुसार दैनिक नित्यपुजा बाहेक बुधवारको दिन बिशेष पुजा गरिन्छ । उक्त बुधवार पूर्णेका दिन परेको हँुदा हरेक पूर्णेको दिनहरुमा पनि बिशेष पुजा हुन्छ । हरेक बर्ष भगवान बुद्धले आफ्नो स्थुलशरिर उत्सर्ग गर्नु भएको पूण्यघडी, कार्तिक चतुर्दशीको रात र भोलीपल्ट पूर्णीमाको दिन ठूलोमेला लाग्नेगर्दछ । यस्को अलावा बर्षको बिभित्र तिथि मितिमा नःम बुद्धमा मेलापर्ब लाग्ने गर्दछ । यस्ता बिशेष दिनहरुमा बौद्धमार्गी तथा अन्य धर्मका अनुयायीहरु आफ्ना दिवंगत परिवार, आफन्त तथा साथी संगीनीहरुको सम्झनाको साथमा मृतआत्माको शान्तिकामना गर्दै नःम बुद्धमा दीप प्रज्वलन गर्दछन् ।
सस्ंकार, संस्कृती र सभ्यताका पुजारी मल्लराजमा बुद्ध धर्मको दान र राजकुमार महासत्वको अभयदान, प्राणीमा सहयोग, सहानुभूती र जिवनको महत्व बारे ब्यापक जानकारी दिने हेतु तथा हिरण्यगिरी गन्धमादन पर्वत सम्म हिडेर जान नसक्नेहरुको लागी बिभित्र स्थानमा नःम बुद्घ चैत्यहरु बनाए जस्तै, भक्तपुरको गोलमढी, काठमाण्डौको महाबौद्घ आदी । यस्तै अन्य स्थानमा जात्रा चलाउनको लागी पनौतीको न्हु बहास्थित रानी गंगालक्ष्मी मल्लको दरवार संङ्गै नःम बुद्घ द्यो छेः बनाए । हरेक बर्ष भाद्र कुशे–औशी, बुबाको मुख हेर्ने दिनको तिनदिन अघि नःम बुद्धको जात्रा गर्ने मूर्ती, नःम बुद्ध द्यो छेः शंखेश्वरी बाट न्हु बहास्थित द्यो छेः मा राखिन्छ र भोलिपल्ट दवली छेउ रहेको ताहा फल्चामा सर्वसाधारणको पुजाको लागी राखिन्छ । त्यसपछि भोली पल्ट पनौती शहरमा बाजागाजा सहित परिक्रमा गरिन्छ र फेरी नःम बुद्ध द्यो छेःमा नै फिर्ता लगिन्छ । यस्तै काठमाण्डौमा नःम बुद्धको बाह्र बर्षे मेला चलाए । माइतिघर र भद्रकालीको बिच ईच्छुमती (टुकुचा) को किनार सडक छेउमै नःम बुद्ध गुठी छेः र संगै पाटी बनाएको थियो । नःम बुद्धबाट जात्राको मूर्तीलाई हरेक बाह्र बर्ष माघ महिनाको पूर्णे पारेर एक हप्ता उक्त पाटीमा सर्बसाधारणको दर्शन तथा पुजाको लागी सजाएर राखिन्थ्यो । नःम बुद्ध गुठी छेः र पाटीमा अन्य स्थानका बुद्धहरुका मेला पनि पालै पालो लगाउथे । उक्त नःम बुद्ध गुठी छेः र द्योक्षे नेपाली सैनिक मूख्यालय नजिक भएको साथै द्वन्दकालमा सैनिक कार्यालय सुरक्षाको दृष्टिकोणले सर्वसाधारणको लागी भद्रकाली र माईतीघरबाट बाटो बन्द गरे पछि बि.सं. २०७० सालको बाह्र बर्षे मेला भद्रकाली मन्दिर परिसर भित्र चलाएका थिए । अभयदान जस्ता उत्कृष्ट कार्यले बिश्व शान्तिमा योगदान पु¥्याउने हुँदा राष्ट्रले यस पर्व र स्थानलाई प्राथमिकता साथ मौकितामा स्थापना गर्नु उचित हुनेछ । बौद्घमार्गीहरुले गुँलाथ्व पारुदेखी ञलाथ्व पारुसम्म एक महिने गुँलापर्व नम्राबाट सुरुगर्ने चलन थियो भनाई रहेकोछ । यस्तै हरेक बर्ष खास्ति बौद्घ काठमाण्डौ, तिमाल, हेलम्बु आदी स्थानबाट बैशाख पूर्णिमाका दिन बिषेश पुजा आउने गर्दछ ।
मंगोलिया नजिक चीनको गांसु प्रान्त, तुङ्गहाङ उपत्यका भित्र रेशम मार्गको सुरुवात बिन्दुसँगै मंगो ९ःयनबय० गुफा छ, जसलाई बुद्धका हजार गुफाहरु तथा संसारको ठूलो बौद्ध भण्डारण पनि भनिन्छ । यो गुफाहरुमा बुद्धमार्ग सम्बन्धित सामाग्री भर्ने काम उई बंस ९ध्भष् म्थलबकतथ० ले सन ३६६ बाट सुरु गरे र १३ रौं शताब्दीमा युआन बंस ९थ्गबल म्थलबकतथ० अर्थात सम्राट कुब्लाई खाँको कार्यकालमा पूर्णता पाएको भनिएको छ । रोचक पक्ष के छ भने सम्राट कुब्लाई खाँको पालामा सन १२७४ तिर अरनिको नेपाली कारिगरी कलाकार टोली मंगोलिया सम्मन पुगेका र हजार गुफाले पनि पूर्णता पाएको पाईन्छ । अझ रोचकपक्ष त हजारगुफाहरु मध्ये २४५ नम्बरको गुफामा नःम बुद्ध चैत्य (मन्दिर) को साथमा गुफाको भित्तामा चैत्य वरिपरी राजकयि शिकार कार्यक्रम र राजकुमार महासत्वले बोधिसत्व प्राप्ती गरेको घटना चक्रको चित्रकला कोरिएको छ । नःम बुद्ध चैत्य र चित्रकलाले अरनिकोले आफ्नो जन्म स्थानको प्रतिनिधित्व गराएको हुनसक्छ । यस्ता चित्रकलाहरु (प्राचिन थांकाहरु) रसिया तथा भारतका गुम्बाहरुमा पनि भेटिएका छन् ।
विश्व साँस्कृतिक द्विप सहित शान्तिपद यात्रा
नःम बुद्ध केवल एक पवित्र धार्मिक स्थल मात्र होइन, यो मानव सभ्यतालाई मार्गदर्शन गर्ने करुणा र त्यागको अद्वितीय प्रतीक पनि हो । प्राचीनकालदेखि काभ्रे जिल्ला र रोशी उपत्यकाका स्थानीय बासिन्दाहरूमा परिचित रहँदै आएको यो धरोहर, अझै पनि काठमाडौं उपत्यकाभन्दा बाहिर सीमित रूपमा चिनिएको छ र विश्व समुदायमा यसको पहिचान पर्याप्त रूपमा स्थापित हुन बाँकी छ । तर यसले बोकेको “अविचलन करुणा” को सन्देश आजको अशान्त विश्वका लागि अत्यन्त सान्दर्भिक र आवश्यक छ । यसै मूल्यलाई विश्वसामु उजागर गर्ने उद्देश्यले, यस लेखका लेखक तथा स्थानीय सांस्कृतिक अध्यता बिश्व उलकको सल्लाहमा बौद्ध सांस्कृतिक अभियन्ता नरेश प्रसाद मानन्धरको नेतृत्वमा, तथा शान्तिका द्योतक पाल्देन लामा, देव सैंजु, सुबर्ण श्रेष्ठ, राजाराम कर्माचार्य, श्याम हरि माहजु, राम गोपाल नापित, सुनिता शाही, चन्द्र बदन बिजुक्छे लगायतका समर्पित सहयात्रीहरूको सक्रिय सहभागिताले सन् २०१७ देखि प्रत्येक वर्ष स्वयम्भूनाथ स्तूप देखि नमो बुद्घसम्म करिब ६० किलोमिटर सयौंको सहभागितामा “शान्तिको दीप” बोकेर पैदल यात्रागर्दै तीन दिने सांस्कृतिक शान्ति पदयात्रा आयोजना हुँदै आएको छ । यो केवल यात्रा मात्र नभई—शान्ति, करुणा र सहअस्तित्वको जीवन्त अभ्यास हो । यसमा सहभागी हुने अन्तर्राष्ट्रिय सहभागिता प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ, जसले यसलाई क्रमशः विश्वस्तरीय अभियानको रूपमा रूपान्तरण गरिरहेको छ ।
सन २०१७ देखि चारुमती बुद्ध विहारबाट सुरु भएको यात्रा – स्वयम्भू बाट सुरु भएर श्रीघ, चारुमती विहार, बौद्ध स्तूप, नगदेश विहार (नगदेश), मुनि विहार (भक्तपुर), नाला गुम्बा, ध्यानाकुटी विहार (बनेपा), नःम बुद्ध द्यो छेः (पनौती) हुँदै अगाडि बढ्छ । त्यसपछि ईट (जहाँ हरेक वर्ष बाजागाजा र लाखे नाच हुन्छ) पार गर्दै हिरण्य गन्धमान पर्वतमा रहेको नःम बुद्ध आमाको मन्दिर पुगेर राजकुमार महासत्वको समाधिमा परिक्रमा गरी उहाँले अभयदान गरेर बोधिसत्व प्राप्त गर्नुभएको पवित्र स्थानमा पुगेर यो यात्रा सम्पन्न हुन्छ । यो पवित्र कार्यलाई सम्पत्र गर्न हरेक बर्ष नयाँ नयाँ सस्थाहरु जस्तै तरगर गुम्बा, बौद्घ शिक्षा प्रतिष्ठान, काभ्रे सेवा समाज, ज्यापु महागुठी, काठमाण्डौ शान्ति स्तुप, अध्यक्ष डा. सुरेस सैजुको पहलमा हलिं नेवा गुठीले नेतृत्व गर्दै आएकोमा विश्व बौद्घ समाज हरेक बर्ष सहभागी हुँदै आएकोछ । सन २०२३ मा काभ्रे सेवा समाजले राष्ट्रिय स्तरमा हजारौको संंख्यामा आंशिक र पूर्ण पदयात्रीहरुको सहभागी गराए । यसैगरि सन् २०२४ मा पिसटुरिष्ट, हलिं नेवा गुठीको सहभागीतामा आठ राष्ट्रका नागरिकहरुको सहभागीता र भब्य साँस्कृतिक टोलिहरुका साथ सम्पत्र भयो । सन् २०२५ मा हलिं नेवा गुठीको नेतृत्वमा सम्पत्र भयो ।
सन् २०२४ बाट सहभागी हलिंनेवा गुठीले सन २०२५ को कार्यक्रममा हलिं नेवा गुठीका सचिव अमरकाजी श्रेष्ठका अहंभूमिका रह््यो । पनौतीका अगुवा तथा सहभागीको अग्रसरमा सन २०२५ को अन्तिम दिनको पैदल कार्यक्रम शान्तिद्विप यात्रा ध्यानाकुटी बिहार बनेपाबाट श्रीखण्डपुर, चौकोट, बतासे, ईटे, शंखु, हिरण्य गन्धमान पर्वत भएर पनौती बुद्घ बिहार, गङ्गालक्ष्मी मल्लको दरवार सागै रहेको नःम बुद्घ द्यो छेः, न्हु बहाः हुँदै महासत्वको जन्मस्थान तत्कालिन पाञ्चाल दरवार, हालको पनौती नगरपालिकाको सभा भवनमा पुगेर तिनदिने पदयात्रा कार्यक्रम सम्पत्र भएको थियो । सन् २०१७ देखि विश्व शान्ति दिवसको अवसरमा हरेक वर्ष सेप्टेम्बर २१–२३ मा “साँस्कृतिक शान्तिद्वीप पदयात्रा” निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ । विगतका अनुभव, पदयात्रीहरूको बढ्दो उत्साह र माग, साथै पदमार्गसँग जोडिएका संस्था, समूह, समुदाय र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता तथा पदयात्रीहरूसँग सत्सङ्ग गर्ने प्रबल इच्छालाई मध्यनजर गर्दै, सन २०२६ देखि यस पदयात्रालाई तीन दिनबाट विस्तार गरी पाँच दिने बनाउने महत्वपूर्ण निर्णय गरिएको छ । पाँच दिने यो कार्यक्रमले यात्रालाई अझ गहिरो, समावेशी र अर्थपूर्ण बनाउँदै सहभागीहरूलाई आत्मिक अनुभूति, सांस्कृतिक आदान–प्रदान र सामुदायिक एकताको सशक्त अनुभव प्रदान गर्नेछ । अन्ततः, यो अभियान केवल एक सांस्कृतिक कार्यक्रम मात्र होइन । नःमो बुद्धमा निहित करुणा, त्याग र मानवताका मूल्यहरूलाई विश्वसामु उजागर गर्ने एक जीवन्त आन्दोलन हो । यसले शान्ति, एकता र सहअस्तित्वको मार्गमा विश्व समुदायलाई प्रेरित गर्ने सशक्त माध्यमका रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाउँदै जानेछ ।
महासत्व संघ
वि.सं. २०८१ मा सम्पत्र नेपाल सांस्कृतिक शान्ति पदयात्रामा पनौतीका सामाजिक क्षेत्रका मूर्धन्य व्यक्तित्व डा. सुरेश सैजुले सक्रिय र उल्लेख्य भूमिका निर्वाह गर्नुभयो । उहाँले आफ्नो व्यक्तिगत पहिचानभन्दा माथि उठेर मानवता, सेवा र शान्तिको सन्देश प्रवाह गर्नुभएको थियो । विश्व शान्तिको प्रवद्र्धन तथा आधुनिक चिकित्सा शास्त्रमा अंग प्रत्यारोपण जस्ता महत्वपूर्ण क्षेत्रमा कस्तुरीको ‘बिना’ प्रतीकात्मक वा उपयोगी पक्ष रूपमा प्रयोग हुन सक्ने “अभयदान”को अवधारणालाई विश्वसामु परिचित गराउने उद्देश्यले वि.सं. २०८१ मा एक महत्वपूर्ण पहल गरिएको छ । यसै सन्दर्भमा, शान्तिका द्योतकहरू अष्टकाजी शाक्य, न्हुच्छे मानन्धर, शर्मिला मानन्धर आदिको अग्रणी भूमिकामा पनौतीमा “महासत्व संघ पनौती” नामक संस्था स्थापना गरिएको छ । यो संस्था मानवता, शान्ति, तथा समाजसेवाका आदर्शहरूलाई अघि बढाउने महत्वपूर्ण कदमको रूपमा रहनेछ ।
पाञ्चाल नगरीका राजकुमार महासत्व, जसलाई नःम बुद्धको रूपमा पनि चिनिन्छ, पुनर्जन्म लिएर कपिलवस्तुमा राजकुमार सिद्धार्थ गौतमका रूपमा जन्मनु भई अन्ततः बुद्धत्व प्राप्त गर्नुभएको भन्ने ऐतिहासिक तथा आध्यात्मिक मान्यताले विश्व मानव समाजलाई गहिरो प्रेरणा र मार्गदर्शन प्रदान गरेको छ । यही महान् सन्देशलाई विश्व जगतसमक्ष व्यापक रूपमा र्पुयाउने उद्देश्यले “महासप्त प्रवर्धन कोष” स्थापना गरिएको हो । यस कोषले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका व्यक्तिहरूमा सदस्यता वितरण गरी महासत्व संघप्रति अपनत्व, एकता र सहभागिता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । साथै, महासत्वका त्याग, करुणा र मानवीय सेवाका अनुपम योगदानलाई विश्वसामु उजागर गर्दै मानव जीवनको मूल्य र महत्वलाई अझ सुदृढ बनाउने प्रयत्न गरिरहेको छ । विशेषतः आधुनिक चिकित्सा क्षेत्रमा अंगप्रत्यारोपण जस्तो जीवनदायी कार्यसँग सम्बन्धित “अभयदान” को अवधारणालाई समाजमा फैलाउँदै, यसबारे ज्ञान, चेतना र सकारात्मक सोच विकास गर्ने दिशामा कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसका साथसाथै, शान्ति, सहअस्तित्व, सद्भाव र मानवीय मूल्यहरूको प्रवद्र्धन गर्दै विश्वमा स्थायी शान्ति स्थापना गर्ने महान उद्देश्यलाई आत्मसात गरी महासप्त प्रवर्धन कोषले समाज रूपान्तरणको मार्गमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेको छ ।
निष्कर्ष
राजकुमार महासत्त्वको करुणामय जीवनकथा र पञ्चाल क्षेत्रको ऐतिहासिक पृष्ठभूमिले यस भूभागलाई केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई मानवतावादी दर्शनको स्रोतका रूपमा पनि स्थापित गरेको देखिन्छ । साथै, भगवान बहाःको उत्पत्ति, विकास र विनाशसँग जोडिएका विभिन्न किंवदन्ती, ऐतिहासिक घटनाक्रम तथा धार्मिक सहअस्तित्वका उदाहरणहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई थप बलियो बनाउँछ । पाञ्चाल दरबार, भगवान बहाः र न्हु बहाःसँग सम्बन्धित ऐतिहासिक, धार्मिक तथा शैक्षिक परम्पराहरूको गहिरो सम्बन्ध रहेको छ । बहाः बहिः परम्परा केवल पूजा–आराधनामा सीमित नभई उच्चस्तरीय शैक्षिक केन्द्रका रूपमा विकसित भएको तथ्यले नेपालको ऐतिहासिक समाजमा शिक्षा, अनुशासन, नैतिकता र करुणामूलक जीवनशैलीको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्छ । समयक्रममा राजनीतिक परिवर्तन, आक्रमण, प्राकृतिक विपत्ति तथा संरक्षणको अभावका कारण यी महत्वपूर्ण सम्पदाहरू ओझेलमा पर्दै गएको यथार्थ परक छ । यसले प्राचीन स्थलहरूको वास्तविक इतिहास पहिचान गर्न, पुरातात्विक अनुसन्धानलाई सुदृढ बनाउन र सांस्कृतिक सम्पदाको संरक्षणमा गम्भीर ध्यान दिन आवश्यक रहेको सन्देश दिन्छ ।
अन्ततः, भगवान बहाः र सम्बन्धित सम्पदाहरूको संरक्षण गर्नु भनेको केवल भौतिक संरचनाको जगेर्ना मात्र नभई करुणा, सहअस्तित्व र ज्ञानको परम्परालाई जोगाउनु हो । यस दिशामा राज्य, स्थानीय समुदाय र अनुसन्धानकर्ताहरूको साझा प्रयासले मात्र यस गौरवपूर्ण इतिहासलाई पुनर्जीवित गर्दै भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनाइ राख्न सकिन्छ ।
