काभ्रे । पनाैतीमा रहेकाे सामूदायिक साकोसले आफ्ना तीन जना कर्मचारीले संस्थाकाे रकम अपचलन गरेकाे र उनीहरुबाट सम्पूर्ण रकम अधिकतम व्याजसहित असुल गरिसकेकाे जनाएकाे छ ।
संस्थाले एक विज्ञप्ति जारी गर्दै कर्मचारीले हिनामिना गरेको रकम अधिकतम व्याजसहित असुल भइसकेको र थप कानुनी कार्बाहीको प्रक्रिया सुरु गरिएको जनाएकाे हाे ।
सदस्यको बचतको सुरक्षामा संस्था प्रतिबद्ध रहेकाे भन्दै साे साकाेसले सम्पूर्ण सदस्यहरुलाई ढुक्क हुन अनुराेध गरेकाे छ । संस्थाका अध्यक्ष मुकुन्द शर्माद्वारा जारी विज्ञप्ति यस्ताे छः
‘विगत ३१ वर्षदेखि समुदायमा निरन्तर वित्तीय सेवा प्रदान गर्दै आएको यस सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती ४, काभ्रेपलाञ्चोकमा कार्यरत कर्मचारीहरु सेवाकेन्द्र प्रमुख विकास खड्का, ऋण सहायक सुवाष सापकोटा र ऋण सहायक सुन्दर घिमिरेले संस्थाको नीति, नियम र कानून उलंघन गरी संस्थाको रकम हिनामिना गरेको जानकारी गराउँदछौं ।
कुशादेवी सेवा केन्द्रमा साविक प्रमुख पदमा कार्यरत कर्मचारी विकास खड्काले आफ्ना आफन्त तथा नातेदार सदस्यहरुलाई आफू जिम्मेवारी बसी ऋण बनाई आफैले रु. १,३८,५०,०००।- (एक करोड अठतीस लाख पचास हजार) अपचलन गरेको र आफ्नो जिम्मेवारीमा रहेको सेवा केन्द्रको नगद रु. ९,००,०००।- (नौ लाख) अपचलन गरेकोमा उक्त रकमको साँवा तथा ब्याज रकम सम्पूर्ण असुल भएको छ। मुख्य कार्यालयको ऋण विभागमा साविक ऋण सहायक पदमा कार्यरत कर्मचारी सुवाष सापकोटाले हिनामिना गरेको रकम रु. ३,०३,८२,०००।- (तीन करोड तीन लाख बयासी हजार) को नियमानुसार अधिकतम ब्याज जोडी साँवा समेत असुल भएको र ढुंखर्क सेवा केन्द्रमा साविक ऋाण सहायक पदमा कार्यरत कर्मचारी सुन्दर धिमिरेले हिनामिना गरेको रकम रु. ५८,२५,९६४।७३ (अन्ठाउन्न लाख पच्चिस हजार नौ शय चौसठी रुपैया चिहत्तर पैसा) मा नियमानुसार अधिकतम ब्याज जोडी साँवा समेत असुल गरिसकेको जानकारी गराउँदछौं ।
संस्थाको सञ्चालक समितिको मिति २०८२ वैशाख २५ गते बसेको बैठकबाट गठित छानविन समितिले पेश गरेको प्रतिवेदनले सिफारिस गरे बमोजिम मिति २०८२ जेष्ठ ९ गतेको सञ्चालक समितिको बैठकको निर्णयानुसार माथि उल्लेखित कर्मचारीहरुबाट रकम हिनामिना भएकोले हिनामिना भएको रकममा अधिकतम व्याजदरले व्याज जोडी असुल गरी निज कर्मचारीहरुलाई मिति २०८२ जेष्ठ १० गतेदेखि लागू हुने गरी बर्खास्त गरी कानूनी कार्वाहीको लागि सम्बन्धित निकायमा लेखि पठाइएको व्यहोरा सम्पूर्ण शेयर सदस्य तथा सरोकारवाला महानुभावहरुमा जानकारी गराउँदछौ । यस अघि नै सञ्चालक समितिले अनियमिततामा संलग्न तिनै जना कर्मचारीहरुलाई थाहा पाएकै मितिदेखि निलम्बन गरी छानविन गरेको थियो ।
संस्थाका सदस्यहरुको बचत रकममा कुनै क्षति पुगेको छैन । संस्था प्रविधिमैत्री र प्रविधिमा भर पर्नुपर्ने भईरहँदा प्रविधिबाट हुनसक्ने जोखिमका सवालमा थप सतर्कता अपनाई सदस्यको बचतको सुरक्षाको ग्यारेन्टीको सवालमा पूर्ण प्रतिवद्ध छौ । संस्थाले रकम अपचलन भएको पनि कर्मचारी प्रशासन तहबाटै पत्ता लगाई तुरुन्तै छानविन समिति गठन गरी कार्वाही प्रकृया अघि बढाई, हिनामिना भएको रकम असुल गरी कानूनी कार्वाहीको प्रकृया अघि बढाएको छ ।
सम्पूर्ण शेयर सदस्य महानुभावहरु तथा सरोकारवालाहरुमा यस विषयले विचलित नहुन र संस्थाको सम्पूर्ण रकम सुरक्षित रहेको जानकारी गराउँदै सदस्य र संस्थाको सम्पूर्ण सम्पत्ती तथा दायित्वको जिम्मेवारी सञ्चालक समिति र उच्च व्यवस्थापनले पूर्णरुपमा लिएको प्रतिवद्धता व्यक्त गर्दछौं ।’

