धुलिखेल । जन्मदिनलाई सामाजिक उत्तरदायित्व र वातावरणीय सचेतनासँग जोड्ने उद्देश्यले सुरु गरिएको जन्मदिनलाई सत्कर्मसँग जोडौँ अभियान अन्तर्गत गत शनिबार धुलिखेल नगरपालिका वडा नं. १०, शारदा बतासेमा वृक्षारोपण आयोजना गरिएको छ । कार्यक्रममा एक हजारभन्दा बढी विरुवा रोपिएका छन् ।
कार्यक्रमको उद्घाटन नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले गरेका थिए । वृक्षारोपणपछि आयोजित कार्यक्रममा मुख्यसचिव अर्यालले यस्ता अभियानले सामाजिक रुपान्तरणमा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे । वडा नं. १० का वडाध्यक्ष गोविन्द भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम वडा सचिव ईश्वर सापकोटाले संचालन गरेका थिए । मुख्यसचिव अर्यालले धुलिखेल नगरपालिका वडा नं. १० ले आयोजना गरेको उक्त अभियानमा ऐक्यवद्धता जनाउँदै ‘शुभ जन्मोत्सव पार्क’ निर्माण कार्यको समेत औपचारिक घोषणा गर्नुभयो ।
कार्यक्रममा विभिन्न तहका सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कलाकार तथा सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वल्डलिंक कम्पनीले धुलिखेलको उक्त स्थानमा निःशुल्क वाइफाइ जडान गर्ने प्रतिबद्धता जनाएको छ । आयोजक संस्थाले कम्पनीप्रति आभार व्यक्त गरेको छ ।
शुभ जन्मोत्सव पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार पारिएको वडाअध्यक्ष गोविन्द भण्डारीले बताए । कार्यक्रममा जिल्लाका सरकारी कार्यालय प्रमुख, शिक्षक, अभिभावक, सामाजिक अभियन्ता, कलाकार श्वेता खड्का र रविन्द्र खड्का, वरिष्ठ गायक थानेश्वर गौतम लगायतको सहभागिता रहेको थियो ।
