देवीटार । संघीय संरचना अनुसार बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये जिल्लाको दक्षिणी भेगमा अवस्थित महाभारत गाउँपालिका १८६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जिल्लाकै सबैभन्दा ठूलो पालिका हो । साविकका पाँचवटा गाउँ विकास समितिहरु गोकूले, घर्तिछाप, फोक्सिङटार, बुढाखानी र बनखु मिलेर हालको महाभारत गाउँपालिका बनेको छ ।
वि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकामा जम्मा घर परिवार संख्या ३ हजार १७४ रहेकोमा कूल जनसंख्या १६ हजार ०७९ रहेको छ । जसमा पुरुषको संख्या ७ हजार ८८० र महिलाको संख्या ८ हजार १९९ रहेको छ । यस पालिकाको लैङ्गिक अनुपात ९६.११ प्रतिशत छ । वार्षिक जनसंख्या बृद्धिदर १.२३, जनघनत्व ८६ प्रतिवर्ग किलोमिटर रहेको छ ।
महाभारत गाउँपालिकाको भूगोल २७ डिग्री २० मिनेट उत्तरी अक्षांशदेखि २७ डिग्री २७ मिनेट ३० सेकेन्ड उत्तरी अक्षांशसम्म र ८५ डिग्री ३० मिनेट पूर्वी देशान्तरदेखि ८५ डिग्री ४३ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । आफ्नो छुट्टै भौगोलिक, साँस्कृतिक, सामाजिक, राजनीतिक तथा आर्थिक पहिचान रहेको यस गाउँपालिकामा विशेषगरी तामाङ, मगर, नेवार, बाहुनक्षेत्री, माझी, दलित, पहरी समुदायका मानिसहरुको बसोबास रहेको छ ।
यस गाउँपालिकाको उत्तरी सीमानामा रोशी गाउँपालिकासँगै पर्यटकीय क्षेत्र भूमीचुली लेक, ताराखसे लेक र चैत्यपानी जस्ता महत्वपूर्ण महाभारत लेकले घेरिएको छ । यस पालिकाको पूर्वी सीमानामा सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिका, दक्षिणमा सिन्धुली जिल्लाकै मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँगै महाभारत गाउँपालिकाको सीमानाबाट बगेको कोखाजोर खोला रहेको छ ।
पश्चिममा खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाको सीमानाबाट बग्ने चाउखोलाले घेरिएको छ । यस गाउँपालिकाको उत्तरी सीमानामा प्राकृतिक तथा पर्यटकीयरुपमा रहेको सुन्दर (म्हाबर) लेक समुन्द्र सतहबाट अन्दाजी २ हजार ५०० मिटर उचाईमा रहेको छ । र यस म्हाबर लेकबाट नै अन्ततः यस गाउँपालिकाको नामाकरण महाभारत हुन पुगेको हो । (पालिकाको वेभसाइटमा उल्लेख)
जनप्रतिनिधिहरु
०७९ सालको स्थानीय निर्वाचनपछि महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा हुनुहुन्छ । यस्तै उपाध्यक्षमा सागर मोक्तान हुनुहुन्छ भने प्रवक्ता कान्छामान जिम्बा हुनुहुन्छ । ८ वटा वडा रहेको यो पालिकाको वडानम्बर १ का अध्यक्ष, प्रवक्ता स्वयं हुनुहुन्छ । यो वडाको जनसंख्या २ हजार १९३ रहेको छ । वडा नम्बर २ मा पदमबहादुर मोक्तान वडा अध्यक्ष हुनुहुन्छ । यहाँ १ हजार ८७२ जनसंख्या रहेको छ । यस्तै वडा नम्बर ३ मा कार्साङ लामा वडा अध्यक्ष हुनुहुन्छ । यहाँ १ हजार ९८४ जनसंख्या रहेको छ । वडा नम्बर ४ मा विशाल मोक्तान वडा अध्यक्ष हुनुहुन्छ । यहाँ १ हजार ६२६ जनसंख्या रहेको छ भने विजय राना वडा अध्यक्ष रहनु भएको वडा नम्बर ५ मा १ हजार ९१५ जनसंख्या रहेको छ । वडा नम्बर ६ मा २ हजार २९ जनसंख्या छ ।
यहाँ रमेशकुमार लुंगेली वडाअध्यक्ष हुनुहुन्छ । वडा नम्बर ७ मा खड्गबहादुर श्रेष्ठ वडाअध्यक्ष हुनुहुन्छ र यहाँको जनसंख्या १ हजार ९५९ रहेको छ । वडा नम्बर ८ मा टंकबहादुर आले वडा अध्यक्ष हुनुहुन्छ । यहाँ पालिकामै सबैभन्दा धेरै २ हजार ५०१ जनसंख्या रहेको छ । यस पालिकामा रामबहादुर तामाङ प्रमुख प्रशासकीय अधिकृत रहनुभएको छ । महालेखा परिक्षकको कार्यालयले दिएको पछिल्लो तथ्यांकअनुसार यो पालिका देशमै बेरुजु शुन्य भएको पालिका हो ।
पालिकामा ०७४ सालसम्म विजुली वत्तीको सुविधा थिएन । तर अहिले सबै वडामा केन्द्रीय प्रशारणलाइनको विद्युत सेवा पुगेको वडानम्बर १ का वडाध्यक्ष एवं पालिकाका प्रवक्ता कान्छामान जिम्बाले जानकारी दिनुभयो । पालिकामा सजिलो नेट कम्पनीसँग सम्झौता गरेर सरकारी कार्यालय, विद्यालय, गाउँपालिका र वडा कार्यालयमा इन्टरनेटको सुविधा पुगेको छ । विस्तारै पूरै पालिकामा नेटको पहुँच पुर्याउने काम भइसकेको छ ।
शैक्षिक अवस्था
पालिकामा ४९ वटा विद्यालय रहेका छन् । सबै सामुदायिक विद्यालय मात्र रहेको पालिकालाई साक्षर पालिका घोषणा गरिसकिएको छ । उच्च शिक्षा अध्ययनका लागि पालिका बाहिर जानुपर्ने अवस्था रहेको यहाँ तीन वटा विद्यालयमा कक्षा १२ सम्मको अध्ययन गर्न सकिने अवस्था छ । प्राविधिक पढाइ हुने एउटा विद्यालय रहेको यहाँ कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने कार्यक्रम घोषणा भइ कार्यान्वयनमा आइसकेको छ ।
सडक यातायात
पालिकामा पुग्ने सडक पक्की बनाउन बाँकी छ । हाल केही खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ । अहिलेसम्म वर्षायाममा भने सहजरुपमा यातायात संचालन गर्न कठिन रहेको र केही वर्षमै यसलाई व्यस्थित बनाउने काम भइरहेको प्रवक्ता जिम्बा बताउनुहुन्छ ।
