सिन्धुपाल्चोक। पाँचपोखरी थाङपाल गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिकाभित्र क्रियाशील विभिन्न संघसंस्थाहरुले गरिरहेका काम, आगामी योजना, सम्भावना, अवसर र चुनौतीका बारेमा आआफ्नो प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाले गरेका कार्य सम्पदाका बारेमा पालिका प्रशासकीय अधिकृत रामप्रसाद न्यौपानेले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँ पालिकाका अध्यक्ष टाँसी लामाले गाउँपालिकाले सन्तोषजनक काम गरिरहेको दाबी गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, पर्यटनका क्षेत्रमा गाउँपालिकाले गर्व गर्न लायक काम गरेको उद्घोष गर्दै शिक्षा र स्वास्थ्यमा जिल्लामा पहिलो भएको बताउनुभयो । उहाँले हालसम्मका उपलब्धी र प्रगतिलाई निरन्तरता दिन आगामी बर्षहरुमा समेत अगाडि बढाउन सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
उहाँले सबैको साथ, सहयोग, समर्थन र एकताका कारण गाउँपालिकाले आज सुविधा सम्पन्न अन्य पालिकाहरुसँग हरेक क्षेत्रमा प्रतिस्पर्धा गरिरहेको जिकिर गर्नुभयो । अध्यक्ष लामाले कर्तव्यनिष्ठ भएर सेवा गर्न निर्देशनसमेत दिनुभयो ।
कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेल, पालिकाका प्रवक्ता नारायण भट्टराई, वडा अध्यक्षहरु, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
