काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि निर्वाचन आयोगले कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आयोगको वेवसाइटमा र नेपाल राजपत्रमा प्रकाशन गर्ने गरी सार्वजनिक गरेको हो ।

पहिलो निर्वाचित हुने प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार ०८२ माघ ६ गते बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । सोही दिन बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

माघ ९ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यसूची छ ।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ २०८२÷०८÷२० गतेदेखि कार्यक्रम सञ्चालन हुनेछ । सो कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि २३ गते दिउँसो ४ः०० बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्ने, मङ्सिर २४ गते बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने, पुस १३ र १४ गते बिहान १०ः०० बजेदेखि ४०० बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्ने र माघ २० गते बिहान १०ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार फागुन २१ गते बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ता हुने
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन माघ ११ गते हुँदैछ । आइतबार आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । जस अनुसार पुस २३ गते उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन÷उजुरीमाथि छानबिन गरी पुस २२ गते ३ः०० बजेदेखि ४ः०० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

त्यस्तै पुस २३ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, पुस २४ गते बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २८ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिने आयोगले जनाएको छ । माघ ११ गते बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

देशभर कुल मतदाताको संख्या एक करोड ८८ लाख ४२ हजार ७३३
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मंसिर २ गतेसम्म ६ लाख ७४ हजार ५०३ जना नयाँ मतदाता थपिएका छन् । यससँगै देशभर कुल मतदाताको संख्या एक करोड ८८ लाख ४२ हजार ७३३ पुगेको आयोगले जनाएको छ । ०८२ कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३० थियो ।

मंसिर २ गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट तीन लाख २० हजार ३५५ जना र राष्ट्रिय परिचयपत्र विवरणमार्फत तीन लाख ५४ हजार १४८ जना गरी कुल ६ लाख ७४ हजार ५०३ जना नयाँ मतदाता सूचीकृत भएका हुन् । आगामी निर्वाचनका लागि आयोगले देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र तोकेको छ ।

आयोगले ४५ हजार मतपेटिका आवश्यक पर्नेमा हाल ९० हजार थान मौज्दात छ । यस्तै, मतपत्र लगायतका छपाइका लागि ३०० मेट्रिक टन कागज आवश्यक पर्नेमा ५६६ मेट्रिक टन मौज्दात रहेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *