कुन्तावेँसी । काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित कुन्तावेँसीमा मुख्य कार्यालय रहेको संकल्प स्वेक बचत तथा ऋण सहकारी संस्थाको २६ औं स्थापना दिवस बिहीबार सम्पन्न भएको छ ।
संस्थाको २६ औं वार्षिकोत्सव तथा रजत वर्ष समापन समारोह मण्डनदेउपुर रिसोर्ट एण्ड पार्टी प्यालेस, कुन्तावेँसीमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष रामचन्द्र श्रेष्ठको सभापतित्व तथा मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइबाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकामा उपमेयर विष्णुमणि नेपाल, वागमती प्रदेश सहकारी संघका संचालक कृष्ण सुवेदी, वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक विकास बादे र जिल्ला सहकारी संघ काभ्रेका उपाध्यक्ष मिरा सत्याल लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै संस्थाका उपाध्यक्ष गीता नेपालले संस्थाका सुरुका दिनदेखि आजसम्म गरेका हरेक गतिविधिलाई सारांशमा सम्पूर्णमा जानकारी गराउनु भएको थियो । प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि टोकबहादुर वाइबा र विशेष अतिथिहरूले रजत वर्षको अवसरमा संस्थाद्वारा प्रकाशित संकल्प स्वेक रजत स्मारिका–२०८२ विमोचन गर्नुभएको थियो ।

त्यस्तै कार्यपत्र प्रस्तुतसहित संस्थाको इतिहासलाई सम्झदै संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै सदस्य तथा समुदायको विश्वास लिँदै गएको बताउँदै संस्थाका अध्यक्ष रामचन्द्र श्रेष्ठले सहकारी २५ औं वर्ष पूरा गरि २६ औं वर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण सदस्य, संचालक समिति लेखा सुपरिवेक्षण समिति, कर्मचारी र शुभेच्छुकप्रति स्वागत एवं धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि निरन्तर साथ सहयोग पाउनेमा आशा राख्दै संस्थाको प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो । ब्यवस्थापक श्यामकुमार श्रेष्ठले संस्थाको वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो ।

यसैगरि वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक विकास बादे र वागमती प्रदेश सहकारी संघका संचालक कृष्ण सुवेदीले शुभकामना मन्तव्य दिनुहुँदै हाल सहकारी क्षेत्रमा आइपरेका समस्यालाई हल गर्दै संघ र संस्था जुनसुकै परिस्थितीमा पनि हातेमालो गर्दै सुशासनमा चल्नु पर्ने बताउनु भयो भने नगरपालिकाका उपमेयर विष्णुमणि नेपालले संस्थाले सदस्यको मन जित्दै गएको र अझै मन जित्दै जानेमा आशावादी हुँदै शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी टोकबहादुर वाइबाले संस्था नगरका साथै जिल्लाकै उदाहरणयोग्य बन्न सफल भएको भन्दै २६ औं वार्षिकको उपलक्ष्यमा शुभकामना दिनु भयो । उहाँले आगामी दिनहरुमा पनि यसरी नै सदस्य र समुदायको हित हुने कार्य निरन्तर गर्दै जान सुझाव एवं विश्वास व्यक्त गर्नु हुँदै कुनै पनि गलत नियत नराखी समुदायमा आधारित भइ सदस्य एवं समुदायको नाम राख्न सफल हुँदै गएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

साथै संस्था स्थापनाकालदेखि ऋण उप–समिति सदस्य, सचिव हुँदै दुई कार्यकाल अध्यक्षसमेत हुनुभएका निवर्तमान अध्यक्ष बद्रीप्रसाद सापकोटा, संस्थामा कर्मचारीकारूपमा आफ्नो जिम्मेवारी बहन गरि उत्कृष्ट कार्यको मूल्यांकन गर्दै उत्कृष्ट कर्मचारी सम्मान २०८१÷०८२ बाट सन्तोष सापकोटालाई सम्मान गरियो ।

२५ औं साधारण सभाबाट छनौट हुनु भएका नियमित बचतकर्ता २ जना, असल ऋणी २ जना र अधिकतम शेयर खरिद १ जनालाई सम्मानका साथै यसपटक पनि शेयर सदस्य मध्ये ७५ वर्षमाथिका ३ जना जेष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो । स्थापना दिवसकै अवसर पारेर नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोयमा संस्थाद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गर्नुभएको थियो । संस्थाका सचिव प्रकाश नेपालले कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *