बनेपा । विश्व हिन्दु महासंघ काभ्रेको चौँथो अधिवेशन शनिबार सम्पन्न भएको छ । महासंघका केन्द्रीय अध्यक्ष रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रममा प्रविन धितालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष केशव वडालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । काभ्रे शाखाका अध्यक्ष प्रविन धितालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार मधु आचार्यको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि आचार्यले देशको पहिचान बचाउने र सबैलाई एक सुत्रमा बाँध्ने काम धर्म र संस्कृतिले गर्ने बताउँदै हरेक क्षेत्रमा संस्कार मर्न लागेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले यसको संरक्षणमा विश्व हिन्दु महासंघले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं विश्व हिन्दु महासंघका केन्द्रीय अध्यक्ष रामचन्द्र अधिकारीले आफ्नो एक मात्र उद्देश्य देशमा हिन्दु धर्मको संस्थागत विकास र धर्म संस्कृतिको जगेर्ना भएको प्रष्ट पार्नुभयो । उहाँले विगतमा केही खराब तत्वहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि नेपाललाई धर्म निरपेक्षको नाममा हिन्दु धर्मलाई सक्याउने अभियान शुरु गरेको आरोप लगाउनुभयो ।
अध्यक्ष अधिकारीले अहिले आफूलाई क्रान्तिकारी भन्नेहरु नक्कली क्रान्तिकारीको आरोप लगाउँदै १० वर्षे जनयुद्धको नाममा नागरिकको हत्या गरेको आरोप लगाउँदै अहिले तिनै व्यक्तिहरु नेता बनेका र नागरिक भने सधैँ थिचिएका उहाँले बताउनु भयो ।
आउने निर्वाचनमा जसले सनातन हिन्दु धर्मको एजेण्डा बोकेर आउँछ त्यसलाई नै भोट दिनुपर्ने बताउँदै आफ्नो देश र धर्म जोगाउन जस्तोसुकै कठिन यात्रा भोग्न पनि तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले धर्म जोगाउन सबैको साथ र सहयोग रहेको अनुरोध गर्नुभयो ।
कार्यक्रममा उपस्थितहरुलाई विश्व हिन्दु महासंघ काभ्रेका उपाध्यक्ष मञ्जु आचार्य घिमिरेले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । विश्व हिन्दु महासंघ केन्द्रीय सदस्य हरिशचन्द्र अधिकारी, बागमती प्रदेश अध्यक्ष उद्वव नेपाल, सिन्धुपाल्चोकका अध्यक्ष रुद्रलोचन आचार्य, पनौती नगर अध्यक्ष, मोहनकुमार बस्नेत, काठमाडौं शाखाका अध्यक्ष रेखा अर्याललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
तीन पत्रकार सम्मानित
कार्यक्रमको अवसरमा तीन पत्रकार सम्मानित भएका छन् । मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदीप केसी बञ्जारा, कालोटोपी डटकमका सम्पादक ज्ञानमणि नेपाल कालोटोपी र पलाञ्चोक साप्ताहिकका सम्पादक शुभराज अधिकारीलाई महासंघले सम्मान गरेको हो । साथै संस्थामा लागेर विभिन्न क्षेत्रमा सहयोग गर्ने पूर्वपदाधिकारी लगायतलाई पनि सम्मान गरिएको थियो ।
