बनेपा । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–८ कोलनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ट्याब्लेटसहित सोही ठाउँ डेरा गरी बस्ने पनौती नगरपालिका–२ घर भएका २४ वर्षीय सुवास तामाङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–३ हिलेखालि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय सलिम भारतीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय ९ एम्पुल, प्रोमेथाजाइन ३ सय ९ एम्पुल, बुप्रेनोर्फिन ३ सय ९ एम्पुलसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–१६ बगर बस्ने २७ वर्षीय रितिक परियार, २३ वर्षीय रोहित घर्ती र मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ बस्ने २४ वर्षीया श्रृजना बल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी नवलपरासी पश्चिम, रामग्राम नगरपालिका–१० बाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय ४७ एम्पुल, फेनारगन २ सय ४९ एम्पुल र बुप्रेनोर्फिन ३ सय एम्पुलसहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ हाटबजार बस्ने २६ वर्षीय बिशाल हरिजन र २७ वर्षीय मोहोमद सरिफ रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमसमेतबाट खटिएको प्रहरीले भैरहवाबाट परासीतर्फ आउँदै गरेको यूपि ४२ एएस ६८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका–१४ गणेश चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९ ट्याब्लेट र स्पास्मो १ सय २ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २८ वर्षीय किरण भुजेललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिजयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका–२० मनिकापुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद १२ हजार ३ सय ६० रूपैयाँसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–६ करातिपुर बस्ने ३५ वर्षीय संजयकुमार साहु र सोही नगरपालिका–५ बस्ने २० वर्षीय साहिद अली साई रहेका छन् । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका–१३ सिराहस्थित जंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २५ हजार रूपैयाँसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय रेशम राना र चितवन भरतपुर महानगरपालिका–८ बस्ने २२ वर्षीय धिरन श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले रेशमले प्रयोग गरेको भे.७ प ६४८६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
कञ्चनपुर, भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने ३६ वर्षीय दिनेश दमाईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्रामसहित झापा शिवसताक्षी नगरपालिका–३ बस्ने २७ वर्षीय विजय विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २८९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
