सिन्धुपाल्चोक । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धिका निम्ति सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुका लागि मेलम्ची नगरपालिकासँगको सहकार्यमा आयोजित ट्राफिक शिक्षक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ट्राफिक नियमको पालना गर्दा दुर्घटना न्यूनीकरण हुने बताउनुभयो । उहाँले हेल्मेट नलगाउने, लापरबाही गर्ने, ट्राफिक नियमको उल्लंघन गर्नेहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नागरिकको ज्यान सुरक्षित राख्नु आफ्नो पहिलो दायित्व भएको बताउनुभयो । उहाँले गम्भीर प्रकृतिका दुर्घटनाबाट जोगाउन विद्यालय, शिक्षक र अभिभावकसम्म पुर्याउन र व्यवहारमा लागू गर्न यस्ता कार्यक्रम संचालन गरिएको बताउनुभयो । शिक्षक समाजको अग्रणी ब्यक्ति भएकाले शिक्षकको दायित्व धेरै हुने बताउँदै उहाँले कानुनी कारबाही गर्ने रहर नभएर बाध्यता हुने प्रष्ट पार्नुभयो ।

मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले ट्राफिक नियमको बारेमा आयोजित यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । हेल्मेट अनिवार्य लगाउन र लगाउन सिकाउनसमेत उहाँले शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै विद्यालयस्तरमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रदान गरेर दुर्घटना न्यूनीकरण गर्नु उद्देश्य रहेको बताउनुभयो । जिम्मेवार, अनुशासित चालक बनाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको बताउँदै उहाँले शिक्षकबाट विद्यार्थी, विद्यार्थीबाट अभिभावकसम्म यसबारे जानकारी दिँदै सवारी दुर्घटनालाई शुन्यमा झर्ने लक्ष्य लिइएको बताउनुभयो ।

कार्यक्रममा ट्राफिक नियम, दुर्घटनाबाट हुने क्षति, कानुनी चरण लगायतका बिषयमा जानकारी गराइएको थियो । उपअनुसन्धान निर्देशक सुवास कार्की, मेलम्चीस्थित ट्राफिक सशस्त्र प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राम थापा, जिल्ला ट्राफिक कार्यालयका वरिष्ठ नायब निरीक्षक बिष्णु थापा लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *