ज्ञानमणि नेपाल कालोटोपी
प्रदिप केसी बञ्जारा
पनौती । काभ्रे जिल्लामा बालबालिकालाई नियमित स्तनपान घट्दो क्रममा रहेको पाइएको छ । यसप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै सचेतना कार्यक्रममा जोड दिएका छन् ।
मंगलबार बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जन स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजना तथा पनौती नगरपालिकाको समन्वयमा सरोकारवालाहरुबीच अन्तक्र्रिया कार्यक्रमको आयोजना गरियो । जसमा पनौती नगरपालिकाभित्र रहेका औषधी व्यवसाय, निजी स्वास्थ्य संस्था, डिपार्टमेन्ट स्टोर संचालकहरु लगायतको उपस्थिती थियो ।
कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण नियन्त्रण) ऐन २०४९ लगायत स्तनपान अभिमुखीकरण सम्पन्न भयो । कार्यक्रममा नगरका ४० भन्दा बढी औषधी व्यबसाय, निजी स्वास्थ्य संस्था र डिपार्टमेन्ट स्टोर संचालकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जनस्वास्थ्य कार्यालयबाट गायत्री शर्मा पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागीका तर्फबाट उठेका जिज्ञासाको जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले जवाफ दिँदै यसप्रति सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा दिइएको जानकारी अनुसार पछिल्ला केही वर्षयता बालबालिकालाई नियमित स्तनपान घट्दो अवस्थामा छ । स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने महिलाहरुको संख्या ८० प्रतिशत रहेको भएपनि जन्मिएको १ घण्टाभित्र नवजात शिशुलाई दूध खुवाउने दर भने जम्मा ५५ प्रतिशत मात्र रहेको छ । यसले बालबालिकाको स्वास्थ्यमा गम्भिर असर परिरहेको छ । शिशुलाई ६ महिनासम्म स्तनपान गराउने दर ६५ प्रतिशत र २ वर्षसम्म स्तनपान ९४ प्रतिशत भइरहेको तथ्यांक देखिन्छ । यद्यपी जन्मिएको एक घण्टाभित्र आमाको दूध खुवाउने हो भने यसले बच्चालाई अमृत समान हुने भएपनि यसतर्फ भने जम्मा ५५ प्रतिशत मात्र प्रगति भइरहेको छ । यो निकै ठूलो चुनौतीको रुपमा रहेको कार्यक्रममा बताइएको छ ।
एक तथ्यांक अनुसार कोशी प्रदेशमा नियमित स्तनपान गराउने आमाको संख्या ५३ प्रतिशत रहेको छ । मधेसमा ६५, बागमतीमा ४३ प्रतिशत, गण्डकीमा ६४, लुम्बिनीमा ३६, कर्णालीमा ७४ र सुदुरपश्चिममा ७४ प्रतिशत रहेको छ । जसमध्ये काभ्रे जिल्लामा ६७.७ प्रतिशत रहेको छ । आमाहरु घरायसीका साथै कार्यालयसम्बन्धी कामकाजमा व्यस्त हुने दैनिकी तथा कतिपय आमाहरुले आफ्नो सौन्दर्यमा कमी आउने बाहानामा शिशुलाई नियमित स्तनपान नगराईरहेको पनि पाइएको छ । जसले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर र दीर्घकालिन असरहरु देखिने गरेको कार्यक्रममा जानकारी दिइयो ।
यसलाई न्यूनिकरण गर्न स्तनपानको महत्व के छ, किन नियमित स्तनपान गराउने, यसका फाइदा के छन् भन्ने विषयमा जनचेतना जगाउनु पर्ने जनस्वास्थ्य अधिकृत दीपेन्द्रकाजी श्रेष्ठले बताउनुभयो । उहाँले दिनुभएको जानकारी अनुसार विश्वमा आमाको दूधको प्रतिस्थापित वस्तु खरिदमा मात्रै वार्षिक ७२ खर्ब लगानी भइरहेको छ । तैपनि ती खाद्यवस्तुहरुमा आमाको दूधमा पाइने तत्वहरु पाइँदैन । यो जनचेतना विशेषगरि आमाहरुलाई दिनुपर्ने सहभागीहरुले बताएका थिए । हरेक संघसंस्थाहरुमा स्तनपान कक्ष स्थापना गर्नुपर्ने कानुनी व्यवस्था छ तर कतिपयमा त्यो पाइँदैन । यसले पनि नियमित स्तनपानमा समस्या भइरहेको जनस्वास्थ्य निरिक्षक दीक्षा थापा बताउनुहुन्छ । नियमित स्तनपानले बच्चाहरुमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । अन्यथा कुपोषण, पुड्कोपना बढ्नुका साथै बालबालिकाको दिमागको विस्तारमा पनि असर पुग्छ ।
नियमित स्तनपान महिलाको एकल प्रयासले मात्र सफल हुँदैन यसमा परिवार, समाज, सरकारको पनि उत्तिकै भूमिका रहेको हुन्छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन–२०७५ अनुसार सुत्केरी आमालाई ९८ दिनसम्म तलबी बिदा पाउने सुविधा छ तर कतिपय कार्यालय र निजी संस्थाहरुले यसलाई कार्यान्वयन गरेका छैनन् । यसले पनि नियमित स्तनपानमा समस्या भइरहेको छ । जसले दीर्घरोगहरुको जोखिम बढ्ने र तिनीहरुको उपचारमा ठूलो लगानी बढीरहेको कार्यक्रममा बताइएको थियो ।
यसका साथै सम्बन्धित व्यवसायीहरुलाई पनि बजारमा किन्न आउनेजति सबैलाई सामान बेच्दा पनि चिकित्सकको सल्लाह हो वा होइन, जथाभावी प्रयोग पो भइरहेको छ कि, लगायतका विषयमा सोधेर आवश्यक भएमा मात्र आमाको दूधको विकल्पका वस्तुहरु बिक्री गर्न सुझाव दिइएको थियो । ऐनमा भनिएका भन्दा बेगरका कामहरु भए वा गरेको पाइए के कस्ता दण्ड जरिवाना हुने भन्ने पनि कार्यक्रममा जानकारी दिइएको थियो ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता, तथा उपप्रमुख गीता बञ्जारा र प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओलीको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो । उपप्रमुख बञ्जारा र प्रमुख प्रशासकीय अधिकृत ओलीले ऐन बनेको लामो समयपछि भए पनि कार्यान्वयन हुन लागेकोमा खुशी व्यक्त गर्दै यसमा पनौतीका तर्फबाट हुनु पर्ने सबै सहयोग रहने बताउनुभयो ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा प्रोत्साहन गरे यस्तो छ सजायँको व्यवस्था
पाँचखाल । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र अनिवार्यरुपमा आमाको दूध चुसाउनु पर्ने भए पनि यसरी दूध खुवाउने आमाहरुको संख्या निकै कम भएको पाइएको छ । स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने आमाहरुको संख्या ८० प्रतिशतभन्दा बढी भए पनि शिशुलाई एक घण्टाभित्र आमाको दूध खुवाउने दर ५५ प्रतिशत मात्र रहेको एक अध्ययनले देखाएको छ । जसले गर्दा शिशु र आमा दुवैको स्वास्थ्यमा गम्भीर असर पर्न थालेपछि यससम्बन्धी ऐन बनेको ३३ वर्षपछि सरोकारवालाहरुले चासो दिन थालेका छन् ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ सालमै बनेको हो । तर यसको कार्यान्वयन भने भएको छैन । भर्खरै मात्र यसलाई कार्यान्वयनमा ल्याइँदैछ । यस ऐनमा के छ भन्ने विषयमा स्वास्थ्यकर्मीहरु नै अनविज्ञ रहेका छन् । के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने जानकारी नहुँदा नजानेरै पनि ऐन विपरित आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण भइरहेको पाइएको छ ।
बुधबार काभ्रेको पाँचखाल नगरपालिकामा यसै सन्दर्भमा एक कार्यक्रमको आयोजना गरियो । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजना तथा पाँचखाल नगरपालिकाको समन्वयमा सरोकारवालाहरुबीच अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको हो । जसमा पाँचखाल र मण्डनदेउपुर नगरपालिकाभित्र रहेका औषधी व्यवसाय, निजी स्वास्थ्य संस्था, डिपार्टमेन्ट स्टोर संचालकहरु लगायतको उपस्थिती थियो । कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा प्रोत्साहन गरे कस्तो सजायँको व्यवस्था छ भन्ने बारेमा छलफल र अन्तरक्रिया गरिएको थियो ।

स्तनपानको संरक्षण र संबद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु लगायत बाल आहार विक्री वितरणलाई नियमित गरी बच्चाहरुको लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्न यो ऐन बनेको हो । ऐन पालन भए नभएको तोकिए बमोजिम सुपरिवेक्षण गर्ने, ऐनका प्रावधानहरु उल्लङ्घन गर्ने उत्पादक, वितरक वा स्वास्थ्य कार्यकर्ताविरुद्ध अनुसन्धान तथा मुद्दा चलाउन सिफारिश गर्ने र उत्पादक तथा वितरकले पेश गरेको उत्पादनका लेवलहरु पुनरावलोकन गरी ऐनको प्रावधान अनुकुल भएका लेवलहरु स्वीकृत गर्नेलगायत विषयहरु यस ऐनमा उल्लेख छन् ।
बाल आहारसम्बन्धी सूचना र शैक्षिक सामग्रीमा खुलाउनु पर्ने कुराहरु (दफा ७) मा स्तनपानका फाइदा र विशिष्टता, आमाको पोषण लगायत स्तनपान तयार गर्ने र स्तर कायम राख्ने तरिका, शिशिबाट दूध खुवाउँदा वा छुट्टै पूरक खाद्य पदार्थ खुवाउँदा स्तनपानलाई प्रतिकूल असर पार्ने कुराहरु र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको उचित प्रयोग तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनुचित तयारीबाट तथा अनुपयुक्त खाना खुवाउँदा र शिशिबाट खुवाउँदा स्वास्थ्यमा पर्ने खराबीका बारेमा उल्लेख छ ।
यस्ता वस्तुहरु उत्पादक तथा वितरकले देहाय बमोजिम हुने गरी कुनै विज्ञापन गर्नु हुँदैन
कुनै उत्पादनको प्रवद्र्धन हुने गरी
शिशिबाट खुवाउनु स्तनपान गराउनु बराबर छ वा त्यो भन्दा विशिष्ट छ भन्ने जनाउने गरी वा विश्वास पर्ने गरी, यस दफाको प्रयोजनका लागि विज्ञापन भन्नाले देहाय बमोजिम गरिएको सबै विज्ञापनलाई जनाउनेछः–
कुनै प्रकाशनद्वारा वा टेलिभिजन, रेडियो, फिल्म, भिडियो वा टेलिफोनद्वारा, सङ्केत, बिलबोर्ड, सूचना वा सामानहरुको प्रदर्शनद्वारा, तस्वीर वा प्रतिमाहरुको प्रदर्शनीद्वारा, उत्पादक वा वितरकले कसैलाई पनि उत्पादनको नमूनाहरु दिन वा वितरण गर्नु हुँदैन ।
उत्पादक वा वितरकले स्वास्थ्य हेरचाह गर्ने निकायभित्र कुनै उत्पादनको प्रवद्र्धन गर्नु हुँदैन । यस दफाको प्रयोजनको लागि प्रवद्र्धन भन्नाले देहायको तरीका लगायत कुनै तरीकाले कुनै व्यक्तिलाई उत्पादनको परिचय दिनु वा उत्पादनसित परिचित गराउनु सम्झनु पर्छः–
विज्ञापन गरी
उत्पादक वा वितरकको नाम वा प्रतिक चिन्ह (लोगो) वा प्रोप्राइटरी उत्पादनको नाम, प्रतिक चिन्ह, ग्राफिक वा अन्य प्रतिरुप भएको किताब, पर्चा वा पोष्टर लगायतका छापिएका वस्तुहरु प्रयोग गरी, उत्पादक वा वितरकको नाम वा प्रतिक चिन्ह वा प्रोप्राइटरी उत्पादनको नाम, प्रतिक चिन्ह, ग्राफिक वा अन्य प्रतिरुप भएको कुनै चीज नगन्य वा विना मूल्यमा दिई वा वितरण गरी,
उत्पादनहरु प्रदर्शन गरी
समितिले स्वीकृत गरेमा बाहेक स्वास्थ्य हेरचाह गर्ने निकाय वा अन्य कुनै संस्था वा संगठनलाई खुद्रा मूल्यभन्दा कम मूल्यमा उत्पादन उपलब्ध गराउन वा दान गर्नु हुँदैन । उत्पादक वा वितरकले आफ्नो व्यापार बढाउन वा त्यस्तो उद्देश्यले स्वास्थ्य हेरचाह गर्ने निकायभित्र जनसाधारणसँग सम्पर्क राख्नु हुँदैन । उत्पादक वा वितरकले समितिको स्वीकृति नलिई स्वास्थ्य हेरचाह गर्ने निकायलाई कुनै उपकरण वा वस्तुहरु दान दिनु हुँदैन । उत्पादक वा वितरकले स्वास्थ्य कार्यकर्तालाई कुनै उपहार दिन वा आर्थिक वा अन्य फाइदा गराउनु हुँदैन ।
लेबल लगाउने सम्बन्धमा
कुनै उत्पादन नेपालमा बिक्री गरिनु अघि उत्पादक वा वितरकले उत्पादनको लेवल समितिबाट स्वीकृत गर्नु पर्नेछ । लेवलमा नेपाली भाषामा देहायका सबै जानकारीसहितको सफा, स्पष्ट एवं सजिलैसँग बुझ्न सकिने सन्देश छापिएको हुनु पर्नेछः
जरुरी सूचना भन्ने शब्दहरु वा त्यस्तै किसिमको अन्य कुरा, बच्चाहरुको लागि स्तनपान सबैभन्दा असल दूध हो भन्ने व्यहोरा, आवश्यकता र प्रयोग गर्ने तरिकाको सम्बन्धमा स्वास्थ्य कार्यकर्ताको सल्लाह बिना उत्पादन प्रयोग गर्न नहुने व्यहोरा, सजिलैसँग बुझ्न सकिने ग्राफीक वा शब्दमा उपयुक्त तयारी गर्ने निर्देशन र प्रत्येक महिना बच्चालाई राम्ररी खुवाउन आवश्यक आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु वा अन्य दूग्ध पदार्थको परिमाण । मानवीकरण, जननीकरण वा त्यस्तै किसिमका अन्य शब्दहरु प्रयोग गर्नु हुँदैन ।
बालसूत्रको सबै पोषण आवश्यकता पूरा नगर्ने र त्यसका लागि परिवर्तन गर्न सकिने प्रकारको दूधको लेवलमा वा भाँडोको बाहिरबाट देखिने गरी राखिएको कुनै चिजमा सो उत्पादन मात्र बच्चाहरुको पोषणको एक मात्र श्रोत हुन नहुने र स्वास्थ्य कार्यकर्ताको दिग्दर्शन बमोजिम बाहेक बच्चाहरुलाई खुवाउन प्रयोग गर्न नहुने चेतावनी हुनु पर्नेछ ।
दूधदानी र मुन्टो बाहेक अन्य उत्पादनको लेवलमा देहायका कुराहरु पनि उल्लेख हुनु पर्नेछः– (क) साधकहरु, (ख) उत्पादनको विश्लेषण र बनावट, (ग) सञ्चय गर्दा पालन गर्नुपर्ने शर्त, (घ) ब्याच संख्या, संचय स्थिती, उत्पादन मिति र मौसमी अवस्थालाई विचार गरी उत्पादन उपभोग गरी सक्नुपर्ने मिति ।
दूधदानी र मुन्टोको लेवलमा उत्पादक तथा वितरकको नाम र ठेगानाको अतिरिक्त आमाको दूध नै बच्चाहरुको निमित्त सबैभन्दा असल दूध हो र शिशिबाट खुवाउनुभन्दा कचौरा र चम्चाबाट ख्वाउनु सुरक्षित छ भन्ने कुरा उल्लेख हुनु पर्नेछ ।
दण्ड सजायँ
(१) दफा ८ को उपदफा (४), (५) वा (६) उल्लङ्घन गर्ने स्वास्थ्य कार्यकर्तालाई एकहजार रुपैंयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजायँ हुनेछ ।
(२) दफा ९ को उपदफा (१), (४), (५), (७), (८), (९), (१०) वा (११) उल्लङ्घन गर्ने उत्पादक वा वितरकलाई दश हजार रुपैंयाँसम्म जरीवाना वा एक महिनासम्म कैद वा दुवै सजायँ हुनेछ ।
(३) दफा १० वा ११ उल्लङ्घन गर्ने उत्पादक वा वितरकलाई पन्ध्र हजार रुपैयाँसम्म जरीवाना वा चार महिनासम्म कैद वा दुवै सजायँ हुनेछ ।
(४) उपदफा (१), (२) वा (३) मा लेखिएदेखि बाहेक यो ऐनका अन्य प्रावधानहरु वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी दुई हजार रुपैयाँसम्म जरीवाना वा एक महिनासम्म कैद वा दुबै सजायँ हुनेछ ।
(५) अदालतले यस दफा बमोजिम कुनै व्यक्तिलाई कुनै कसूर गरे बापत सजायँ गर्दा त्यस्तो कसूरबाट क्षति पुगेको व्यक्ति वा निजको हकदारलाई त्यस्तो कसूर गर्ने व्यक्तिबाट पच्चीस हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म क्षतिपूर्तिसमेत भराई दिन सक्नेछ ।
बुधबारको कार्यक्रम पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका तर्फबाट गायत्री शर्मा पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यालयका जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले सहभागीले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको थियो । कार्यक्रममा पाँचखाल नगरपालिका स्वास्थ्य शाखा प्रमुख कोपिला कार्की, स्वास्थ्य शाखा संयोजक उज्ज्वल अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
