भकुण्डेवेँसी । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीका लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ वडा तहसम्म तयारीमा जुटेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिले तयारी भेला गरेर वडा तहसम्मलाई निर्वाचनको प्रचारप्रसार र तयारीमा परिचालन गरेको हो ।
परिचालन समितिका संयोजकसमेत रहेका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामाका अनुसार, भेला लगत्तै ६९ वटै वडामा निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिको कार्यालय स्थापना गरिनेछ । उनका अनुसार, ती कार्यालयका लागि आवश्यक व्यवस्थापकीय प्रबन्ध गरिसकिएको छ ।
कांग्रेसले क्षेत्र नं १ अन्तर्गतका ६९ वटै वडामा परिचालन तथा प्रचारप्रसार समिति गठन गरेर तत्काल निर्वाचनको तयारी थाल्न निर्देशन दिएको छ । पालिका तथा वडास्तरमा परिचालन तथा प्रचारप्रसार समितिले गर्ने काम, कर्तव्य र अधिकारसहित पार्टीका विभिन्न तहका कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यहरूलाई परिचालन गरिएको उनले जानकारी दिए । तयारी भेलाले क्षेत्र नम्बर १ अन्तर्गतका विभिन्न स्थानीय तहमा गरिने क्रियाकलाप कार्यतालिकासहित तयार गरेको छ । सोही अनुसार, निर्वाचन गतिविधि अघि बढाउने परिचालन समितिका संयोजक लामाले बताए ।
निर्वाचनकै तयारीका सन्दर्भमा नेपाली कांग्रेसले विभिन्न स्थानीय तहको काठमाडौँ सम्पर्क समितिमार्फत भेला तथा अन्तरक्रिया सम्पन्न गरिसकेको छ । काठमाडौँमा विभिन्न पेशा र व्यवसायमा संलग्न क्षेत्र नम्बर १ का मतदातासँग छलफल र अन्तरक्रिया गरी निर्वाचनको तयारी थालिएको कांग्रेसले जनाएको छ ।
मंगलबार भकुण्डेबेँसीमा आयोजित तयारी भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गणेश लामाले संविधान अझै पनि संकटमा रहेकाले त्यसलाई ट्रयाकमा ल्याउन निर्वाचन अपरिहार्य रहेको तर्क गरे । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफू आकांक्षी रहेपनि पार्टीको निर्णयको सम्मान गर्दै कांग्रेस उम्मेदवार गुणराज मुक्तानलाई जिताउन आफू सक्रिय रहने उनले बताए ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति एवं बागमती प्रदेशका पूर्वमन्त्री तीर्थ लामाले सुशासन, पारदर्शीतासहितको समाज निर्माणका लागि कांग्रेसको जित अपरिहार्य रहेको बताए । पार्टीभित्र वादविवाद स्वभाविक रहेको भन्दै उनले तिता–मिठा बिर्सेर निर्वाचनमा होमिएको र सामाजिक, वैचारिक र राजनीतिकरुपमा खारिएका पात्र गुणराज मुक्तानलाई जिताउनु सबैको दायित्व भएको बताए ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार रहेका नेपाली कांग्रेसका सचिव गुणराज मुक्तानले बदलिएको कांग्रेसले नै देश बदल्न सक्ने भन्दै युवा पुस्ताका सवाल समस्या र सम्भावनाहरू बोकेर आफू मैदानमा उत्रिएको बताए । प्रतिनिधी सभा सदस्य समानुपातिक उम्मेदवार मिरा नेपालीले पार्टीले आफूलाई अवसर दिएको भन्दै युवा, महिला, आदिवासी जनजाति लगायत सबै वर्ग, क्षेत्रलाई समान अवसर नेपाली कांग्रेसले नै प्रदान गरेको तर्क गरिन् ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका उपसभापति रमेशप्रसाद हुमागाईं, बागमती प्रदेश सदस्य विक्रम लामा, नेता शंखबुद्ध लामा, महासमिति सदस्य सार्कीमान बल, जिल्ला कोषाध्यक्ष जगन्नाथ गिरी, प्रवक्ता सन्तमान तामाङ, प्रदेश सभा क्षेत्र नम्बर १ (ख) का सभापति चन्द्रबहादुर लामा, प्रदेश सभा १ (क) का सभापति रामबहादुर योन्जन, महाधिवेशन प्रतिनिधि अन्जु रन्जित केसी, नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिका सभापति एवं नगरप्रमुख कुन्साङ लामाले सबै जुटेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
यसैगरि कार्यक्रममा पनौती नगर सभापति एवं नगरप्रमुख रामशरण भण्डारी, धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम, धुलिखेल नगर सभापति बिदुरबहादुर बस्नेत, नेपाली कांग्रेस काभ्रे–काठमाडौँ सम्पर्क समितिका सभापति बद्रिराज तिमल्सिना, नेपाल तरुण दलका केन्द्रीय सदस्य स्मिता मोक्तान, प्रदेश सभा १ (क) काठमाडौँ सम्पर्क समितिका सभापति हेमन्त लामा, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम लामा थोकर, नेपाल तरुण दल प्रदेशसभा १ (क) का सभापति रामध्वज लामा लगायतले नेपाली कांग्रेसलाई विजय गराउन पार्टीका सबै तहका नेता, कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाहरू एकजुट भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य रहेका नमोबुद्ध नगरपालिका वडा नं ९ का सूर्यकुमार श्रेष्ठ, तेमाल गाउँपालिका वडा नं ७ बाट नेकपा एमाले परित्याग गरी बिष्णुबहादुर तामाङ, फुर्पे तामाङ, युवराज शाह, किरण तामाङ, मानबहादुर तामाङ, सुनिल तामाङ, पाल्तेन तामाङ, सुदिप तामाङ, सचिन तामाङ, रामबहादुर तामाङसहित २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *