मण्डनदेउपुर । काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ मा अवस्थित कालीदेवी आधारभूत विद्यालयको ३२ औं वार्षिक उत्सव तथा अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।
संबिधान सभा सदस्य स्वर्गिय बिदुर सापकोटाको पहल तथा स्थानीयबासीको सक्रियतामा २०५० सालमा स्थापित मण्डनदेउपुर वडा नं ७ मा अवस्थित कालीदेवी विद्यालयको बार्षिकोत्सव नगरप्रमुख टोकबहादुर वाईवाको प्रमुख आतित्थता र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न गरिएको हो ।
कार्यक्रममा मण्डनदेउपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेल तथा विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारी तथा समाजसेवीहरु पनि उपस्थित थिए । कार्यक्रममा विद्यार्थीहरुलाई जुत्ता सहयोग तथा स्टेसनरी सामाग्री सहयोग गरिएको थियो ।
जुत्ता सहयोगमा मण्डनदेउपुर नपा वडा नं ७ का उत्तम, रवि, प्रमोद र समिर सापकोटासँगै धुलिखेल–३ का प्रदीप सापकोटा थिए । साथै स्टेशनरी सहयोगमा मण्डनदेउपुर नौविसेका किरण सापकोटा, सुरेशकुमार श्रेष्ठका साथै अन्य क्षेत्रका कृष्ण प्रधान, धिरज चौधरी, ऋषिकेश मेहता र टोपराज दाहाललाई सम्मानित गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक सुदर्शन नेपालले विद्यालयको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शुभकामना मन्तव्य दिँदै निवर्तमान अध्यक्ष बलराम सापकोटाले स्थापनाकालदेखि अहिलेसम्म विद्यालयले भोग्नु परेका समस्या र समाधानका बारेमा जानकारी गराउँदै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट छात्राछात्रहरूलाई पुरस्कार वितरण गरिएको थियो साथै पूर्वशिक्षक दुर्गादेवी सापकोटा र उर्मिला लम्साललाई पनि सम्मान गरिएको थियो । यस वर्षको उत्कृष्ट शिक्षक अनुजा सापकोटा र असल अभिभावक राममाया दनुवारलाई सम्मान गरिएको हो । विगत १६ वर्षदेखि सञ्चालन गरिएको विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन गरिँदै आइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *