बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र विन्धवासिनी बचत तथा ऋण सहकारीबीच निःशुल्क रगत उपलब्धसम्बन्धी सम्झौता भएको छ । बुधबार सहकारीको ३३ औं स्थापना दिवसको अवसर पारेर दुई संस्थाबीच सम्झौता भएको हो ।
विन्धवासिनीका अध्यक्ष शान्तकुमार श्रेष्ठ र रेडक्रस काभ्रेका सभापति देवेन्द्रप्रसाद भैलले सम्झौतापत्रमा हस्ताक्षर गर्दै एकापसमा आदानप्रदान गर्नुभयो । सम्झौताअनुसार रेडक्रसले विन्धवासिनीका सदस्यहरुलाई अस्पताल भर्ना भइ रगतको आवश्यक परेमा प्रतिसदस्य दुई प्रिन्ट रगत निःशुल्क उपलब्ध गराउनेछ भने विन्धवासिनीले पनि आफ्ना सदस्यलाई रक्तदानका लागि अभिप्रेरित गर्दै सहयोग गर्नेछ । यस्तै विन्धवासिनीले हरेक सेवा केन्द्रमार्फत वर्षमा कम्तीमा ७ पटकसम्म रक्तदान कार्यक्रमको शिविर राख्नुपर्ने सम्झौतामा उल्लेख छ ।
यस अघि पनि रेडक्रसले विभिन्न संस्था तथा पालिकाहरुसँग यस्तो सम्झौता गरिसकेको छ । यसले तत्काल रगत आवश्यक पर्ने बिरामीका लागि निकै प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच विन्धवासिनी बचत तथा ऋण सहकारीले आफ्नो स्थापनाको ३३ औं दिवस एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्व, संस्थापक अध्यक्ष भरतप्रसाद शर्माको प्रमुख आतिथ्यता र निवर्तमान अध्यक्ष प्रदिप थापाको विशेष आतिथ्यतामा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी शर्माले सहकारीहरुले बचत संकलन गर्ने र ऋण लगानी गर्ने मात्र नगरि देशलाई आर्थिकरुपमा कसरी टेवा पुर्याउन सकिन्छ भन्नेतर्फ पनि सोचेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
