पनौती । पनौती नगरपालिका वडा नं. ८ को आयोजनामा बालविवाह, बालश्रम तथा जन्मदर्तासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वडास्तरीय बाल अधिकार समिति, बालश्रम अनुगमन समिति तथा सुनौलो वडा बाल सञ्जालको समन्वयमा आयोजना गरिएको हो ।
समुदायमा बालअधिकारको संरक्षण, बालविवाह तथा बालश्रम न्यूनीकरण र प्रत्येक बालबालिकाको जन्मदर्ता सुनिश्चित गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावक, बालबालिका तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले बालविवाह र बालश्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा नकारात्मक असर पार्ने भएकाले यस्ता कुप्रथाको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए । साथै, जन्मदर्ता प्रत्येक बालबालिकाको पहिलो कानुनी अधिकार भएकाले समयमै जन्मदर्ता गराउन अभिभावकहरूलाई आग्रह गरिएको थियो ।
सहभागीहरूलाई बालअधिकारसम्बन्धी कानुनी व्यवस्था, बाल संरक्षणका उपाय तथा बालमैत्री समाज निर्माणमा समुदायको भूमिकाबारे जानकारी दिइएको थियो । कार्यक्रममा सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै बालबालिकाको हक,हित संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
पनौती नगरपालिका वडा नं. ८ ले बालमैत्री तथा सुरक्षित समाज निर्माणका लागि आगामी दिनमा समेत यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी तथा सहयोगी संस्थाप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ ।
