धुलिखेल । धुलिखेल नगरपालिकामा प्रदेश सरकारको ७० प्रतिशत तथा नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा ढाकाको कपडा बुनाइ तालिम सञ्चालन भइरहेको छ । प्रदेश सरकारको गृहीणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सञ्चालित उक्त तालिम जेठ १३ गतेदेखि सुरु भई आगामी असार १२ गते समापन हुने जनाइएको छ ।
धुलिखेल नगरपालिकाको योजना शाखा तथा लैङ्गिक विकास तथा समाजकल्याण शाखा प्रमुख पूजा काफ्लेका अनुसार तालिममा २२ जना महिलाको सहभागिता रहेको छ । तालिममा सहभागीहरूलाई ढाकाको कपडा, रुमाल, टोपी लगायतका सामग्री बुनाइसम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको छ ।
तालिमका मुख्य प्रशिक्षक भवानी सापकोटा तथा सहायक प्रशिक्षक अमृता सापकोटाले सहभागीहरूलाई परम्परागत ढाका बुनाइसँगै व्यावसायिक उत्पादनका सीप सिकाइरहेका छन् । धुलिखेल–४ की सहभागी एन्जिला तामाङले तालिमबाट आत्मनिर्भर बन्ने तथा आयआर्जनका अवसर सिर्जना हुने विश्वास व्यक्त गरिन् ।
यसै कार्यक्रम अन्तर्गत ४० जना सहभागी रहेको होमस्टे तालिमसमेत सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । महिला सशक्तिकरण, सीप विकास तथा स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । हाल तालिम निरन्तर सञ्चालनमा रहेको छ ।
