बनेपा । अमेरिकी डलर सस्तोमा उपलब्ध गराइ नेपाली रुपैयाँ साटिदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काभ्रेपलाञ्चोकका अनुसार बनेपा नगरपालिका–३ का २६ वर्षीय सुनिल डुम्जनलाई पक्राउ गरी ठगी तथा संगठित अपराध मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार डुम्जनले विभिन्न व्यक्तिलाई अमेरिकी ५० डलरको नोट देखाई ठूलो रकम बराबरको डलर उपलब्ध गराइदिने भन्दै झुक्याएर रकम असुल्ने गरेका थिए । अनुसन्धानका क्रममा तीनवटा ठगीका घटना खुलेका छन् ।

२०८२ चैत २४ गते बनेपा–३ स्थित जंगल क्षेत्रमा एक व्यक्तिबाट ५ लाख रुपैयाँ ठगी गरिएको ।
२०८३ असार ५ गते बनेपा–३ शान्तिटोल नजिक जंगल क्षेत्रमा अर्को व्यक्तिबाट २३ लाख रुपैयाँ ठगी गरिएको ।
२०८३ असार ६ गते बनेपा–१ रानीकोट क्षेत्रमा एक व्यक्तिबाट २० लाख रुपैयाँ ठगी गरिएको ।

प्रहरीका अनुसार अभियुक्तले विभिन्न मोबाइल नम्बर प्रयोग गरी योजनाबद्धरूपमा सर्वसाधारणलाई सम्पर्क गरेर आर्थिक प्रलोभनमा पारी ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका डुम्जनविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा घटनामा प्रयोग भएको टीभीएस स्कुटर, मोबाइल फोन, सिमकार्ड, कपडा, कापी तथा नगद २३ हजार ६० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक -डीएसपी) रविन विष्टले यस्ता प्रलोभनमा नपरी कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *