बनेपा । दैलेखका तीन प्रतिभाशाली युवा—सुनिल वादी, विकास वादी र सुमन वादी । आर्थिक अवस्था कमजोर भए पनि उनीहरूमा गायनको अद्भुत प्रतिभा छ । तीन जनामध्ये सुनिल र विकास दाजुभाइ हुन् भने सुमन उनीहरूका आफन्त हुन् ।
गायनमा राम्रो दख्खल राख्ने यी युवाको सुमधुर स्वर सुन्दा प्रकृतिले नै दिएको वरदानजस्तो लाग्छ । तर प्रतिभा भएर पनि आर्थिक अभावका कारण उनीहरूले आफ्नो प्रतिभालाई सोचेअनुसार अघि बढाउन सकेका छैनन् । घरपरिवार रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा समेत पुगेका छन् । जीवन चलाउनुपर्ने बाध्यताबीच उनीहरूको गायनप्रतिको रुचि र प्रतिभा भने हराएन ।
हाल उनीहरू इन्द्रेणी कार्यक्रमका कृष्ण कँडेलको सहयोगमा काठमाडौंमा बसेर आफ्नो प्रतिभालाई अगाडि बढाउने प्रयास गरिरहेका छन् । हामीले यी प्रतिभाशाली युवालाई बनेपास्थित ब्ल्याक एन्ड ह्वाइट होटलमा भेटेका थियौँ । कुराकानीका क्रममा उनीहरूको अवस्था, संघर्ष र गायनप्रतिको लगाव नजिकबाट बुझ्ने अवसर मिल्यो ।
प्रतिभा भएर पनि अवसर र आर्थिक अभावमा रहेका यी युवालाई तपाईं–हामीमध्ये कसैले सहयोग गर्न चाहनुहुन्छ भने सुमन वादी ः ९७४९२८७७५५ मा सम्पर्क गर्न सकिनेछ । कहिलेकाहीँ एउटा सानो सहयोगले लुकेको प्रतिभालाई ठूलो सम्भावनामा बदल्न सक्छ । यी तीन युवाको प्रतिभाले पनि उचित अवसर र साथ पाए नेपाली संगीत क्षेत्रमा राम्रो सम्भावना बोकेको देखिन्छ ।
