काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
प्रदर्शनकारीले षड्यन्त्रपूर्वक आगलागीमा पारी कार्यस्थलमा खटिएका पत्रकार सुरेश रजकको हत्या गरेको भन्दै महासंघले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन आन्दोलनको घोषणा गरेको हो । महासंघको शनिबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सुनियोजित रूपमा भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणको विरोधमा आइतबारदेखि थप तीन दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
महासंघले शुक्रबार भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणका विषयमा अध्ययन गर्न उपाध्यक्ष उमिद बाग्चन्दको संयोजकत्वमा ७ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।
केन्द्रीय समितिका सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन कार्यदलका सदस्य छन् । त्यस्तै, घटनाको विरोधमा महासंघले आइतबार देशभरका पत्रकारलाई कालोपट्टी बाँधेर काम गर्न आह्वान गरेको छ ।
सोमबार महासंघ केन्द्रले गृहमन्त्रीलाई, प्रदेश समितिहरूले प्रदेशका गृहमन्त्री र जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत एकैसाथ सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । त्यस्तै, मंगलबार घटनाका विषयमा सञ्चारगृहका सम्पादक र सरोकारवाला संघसंगठनका नेतासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।
