बनेपा । विश्व रेडक्रस दिवसका अवसरमा जिल्ला शाखा काभ्रे र विभिन्न उपशाखामा विभिन्न कार्यक्रम गरिएको छ ।
बनेपास्थित शाखा कार्यालयमा आयोजित एक कार्यक्रममा रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको प्रतिमामा माल्यार्पण गरियो । साथै उनको योगदानको चर्चा गरिएको थियो । शाखा सभापति देवेन्द्र भैलले रेडक्रसका मूल्य मान्यता नभुल्न र सोही अनुसार काम गर्न सबै रेडक्रसकर्मीलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा शाखाका मन्त्री राजु सिग्देलले केन्द्रीय समितिबाट प्राप्त परिपत्र पढेर सुनाउनुभएको थियो । यस्तै कुशादेवी उपशाखाले माइती वृद्धाश्रम पनौतीका जेष्ठ नागरिकहरुलाई खाद्यान्नलगायत वितरण गरेको थियो ।
उता ‘मानवताको पक्षमा’ भन्ने नाराका साथ बिहीबार विश्वभर विश्व रेडक्रस दिवस मनाइरहँदा पनौती उपशाखाले भने प्राथमिक उपचार बक्स र डोप्पलर उपकरण क्रमशः सितेरियो संघ, पनौती र पनौती स्वास्थ्य चौकीलाई उपलब्ध गराएको थियो ।
नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाको समन्वयमा भुम्लु उपशाखा तदर्थ समिति तथा भुम्लु गाउँपालिकाको आयोजनामा रक्तदान कार्यक्रम गरिएको थियो । उता दाप्चा माध्यमिक विद्यालय, नमोबुद्ध–८, दाप्चामा जुनियर रेडक्रस सर्कल तथा विद्यालय परिवारद्वारा विद्यालय हाता सरसफाइ र कृषि तथा तरकारी खेती कार्यक्रम भव्यरूपमा सम्पन्न गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *