प्रदीप के.सी. बञ्जारा
बनेपा । बनेपामा यस वर्षको चण्डेश्वरी जात्रा शुरु हुँदैछ । यो जात्रा विशेषगरी स्थानीय नेवार समुदायले मनाउने गर्छन् । बर्सेनी चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाइने जात्राका लागि यहाँका बासिन्दाले बनेपा सहरको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर र परिसर बेहुलीझैँ सिङ्गारिएको छ । बनेपालीले यो जात्रालाई निकै महत्व दिने गरेका छन् ।
जात्राको पहिलो दिन हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग) सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरूलाई १२ वटा बोका बली दिई ‘सरकारी पूजा’ गरिने र मत पूजा (चिराग यात्रा) गरी औपचारिकरूपमा जात्रा शुरू हुने स्थानीय बताउँछन् । करिब दुई हजार पाँच सय वर्ष अघिदेखि मनाइँदै आइएको चण्डेश्वरी जात्राका अवसरमा पहिलो दिन रातभरी पुजाका साथै स्थानीयका घरघरमा भोज सुरु गरिन्छ । भोलिपल्ट बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बली दिइएपछि देवता नभएको खाली रथ (खट) लाई स्थानीय युवाहरुले बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पु¥याउने प्रचलन छ । भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । यसवर्ष आउँदो सोमबारदेखि जात्रा शुरु हुँदैछ ।
रथ मन्दिर लैजाने बेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालबाट उनीहरुलाई ‘ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम पनि हुन्छ । खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । यस्तै रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् ।
जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज हुने गर्दछ । बुढापाकाले टोलटोलमा बसी विहान बेलुका भजन गाउँछन् । सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको भीडभाड हुन्छ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’ को पूजा गर्न टाढादेखि भक्तजन आउने गरेका स्थानीय बताउँछन् । जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजनहरु ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् ।
जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । सरकारको तर्फबाट समेत पूजा गर्ने भएकाले यसको महत्वले अझ व्यापकता पाएको बनेपाली बताउँछन् । पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधी गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बली दिने परम्परा रहेको स्थानीय साहित्यकार मोहन दुवालले बताए । बनेपा नगरपालिकाले बर्सेनी जात्राका लागि आर्थिक सहयोग गर्दै आएको छ । बनेपाबाट जहाँसुकै स्थानमा बसाँई गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँको जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास छ । यस अवधिमा बनेपा र आसपासमा रहेका संघ, संस्था तथा विद्यालय बन्द गरिन्छन् ।
जात्रामा बनेपाका मानन्धर, भोछिभोया, राजवाहकलगायत स्थानीय नेवार समुदायसँग प्रत्यक्षसम्बन्ध रहने भएकोले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको हो । धार्मिक कथन एवं किंवदन्तीअनुसार करिब २५ सय वर्ष अगाडि कुनै पनि पुरुषले मार्न नसक्ने वरदान पाएका दैत्यराज चण्डासुरलाई भगवतीको रूपमा प्रकट भई बध गरेर देवताको रक्षा गरेको खुसीयालीमा आराध्यदेवी चण्डेश्वरी माइको जात्रा मनाइँदै आइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *