काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बाढीपहिरोले अति प्रभावित काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न स्थानको अवलोकन गर्नुभएको छ ।
शनिबार बिहान उहाँ बेथानचोक पुग्नुभएको हो । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण जिल्लाका १३ पालिका मध्ये बेथानचोक, पनौती, तेमाल र रोशी अतिप्रभावित भएका छन् । बाढी पहिरोले धेरै नै प्रभाव पारे पनि बेथानचोकमा पूर्वाधार निर्माणका काम भने द्रूत गतिमा भएका कारण सडक, खानेपानी, विजुली, टेलिफोन जडानका काममा अहिले धेरै नै सुधार भएको छ । बाढीले प्रभावित भएको झण्डै २ महिनापछि मुख्यमन्त्री लामा शनिबार बेथानचोक पुग्नु भएको हो ।
उहाँलाई पालिका अध्यक्ष भगवान अधिकारीलगायत जनप्रतिनिधीहरुले त्यहाँको क्षति र अहिले भइरहेको राहत वितरणलगायत विषयमा जानकारी गराउनुभएको थियो । अवलोकनपछि मुख्यमन्त्री लामाले पुनर्निर्माणका काममा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोमा हालसम्म ७८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार बाढीपहिरोबाट जिल्लामा ७८ जनाको मृत्यु र ७५ जना घाइते छन् । ५ जना अझै बेपत्ता छन् ।
पालिकाअनुसार धुलिखेलमा २ र बनेपा नगरपालिकामा ३ जनाको मृत्यु भएको छ । यस्तै पनौतीमा १८, मण्डनदेउपुरमा ७, नमोबुद्धमा ७, रोशीमा १२, चौरीदेउरालीमा १, बेथानचोकमा १२, तेमालमा १२ र भुम्लुमा ३ जनाको मृत्यु भएको हो । जसमध्ये १६ जना बालबालिका रहेका छन् ।
धेरैजसो पालिकामा घरबार हुनेको संख्या पनि उच्च छ । अहिले पालिकाहरुले तथ्यांक संकलनको काम गरिरहेको जनाएका छन् । तर समयमा सही तथ्यांक नआउँदा प्रभावितहरु झन समस्यामा छन् भने जाडो मौसम सुरु भइसक्दा पनि अस्थायी आवास निर्माणको काम पनि हुन सकेको छैन । यसमा प्रदेश सरकार गम्भीर भएर लागिरहेको मुख्यमन्त्री लामाले बताउनुभयो ।
