काभ्रे । नेपाल रेडक्रस सोसाइटी साँगा उपशाखाको आयोजनामा नवनिर्वाचित जिल्ला कार्यसमितिलाई बधाई तथा बाढीपिडितहरुलाई राहत वितरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति देवेन्द्र प्रसाद भैलले हामी विपत्को समयमा निर्वाचित भएर आएका छौं । हामीले अवसरमा चुनौतीलाई सरल रुपमा ग्रहण गरी मानव सेवामा लाग्ने वचनबद्धता व्यक्त गर्नुभयो । उहाँले राहतको कार्यक्रम वितरण गर्न जिल्ला दैवि प्रकोप व्यवस्थापन समितिले रेडक्रसलाई बेथानचोक गाउँपालिका र पनौती नगरपालिका तोकिदिएको बताउनुभयो । हामीले पहिलो चरणमा बेथानचोकमा २ सय जना र पनौती नगरपालिकामा १२ सय जना बाढी पिडितहरुलाई नगद रकम वितरण गर्ने लक्ष्य रहेको भन्दै पालिकाहरुद्वारा खटाइएका स्वयंसेवकहरुलाई तालिम दिई एप्समार्फत् पिडितको डाटा संकलन गरी पालिकाहरुको सिफारिसमा सरकारले तोकेको रकम हस्तान्तरण गर्ने लक्ष्य रहेको बताउनुभयो ।
सोही कार्यक्रममा बनेपा नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष टुल्कु लामाले बाढीपहिरो गई मेरो वडामा २ जनाको मृत्यु भएको र खानेपानीका धेरै समस्याहरु रहेको बताउनुभयो । उहाँले लडेका घरहरुको लेखाजोखा गरी रेडक्रसले यस १४ नं. वडालाई पनि राहतका कार्यक्रमहरुमा सामेल गर्न अनुरोध गर्नुभयो । उहाँले वडामा विपद् र उच्च जोखिमको रुपमा बनेपा नगरपालिकाले समेत घोषणा गरेको बताउँदै वास्तविक पिडितहरुलाई औंल्याएर राहत वितरण गर्न अनुरोध गर्नुभयो ।
बनेपा नगरपालिका वडा नं. १३ का वडा सदस्य एवं कार्यपालिका सदस्य राजु मधिकर्मीले पिडित सुत्केरी महिलाहरुलाई समेत राहतको व्यवस्था गर्न अनुरोध गर्दै निष्पक्ष रुपमा रेडक्रसले राहत वितरण गर्छ भन्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाल रेडक्रस सोसाइटी साँगा उपशाखाका सहसचिव निलकमल नापितले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सोही उपशाखाका उपसभापति पुनम घिमिरेले गर्नुभएको कार्यक्रमको सभापतित्व उपशाखा सभापति बद्री बहादुर खत्रीले गर्नुभएको थियो ।
सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति देवेन्द्र प्रसाद भैल लगायतले बनेपा नगरपालिका वडा नं. १३ र १४ का ७४ जना पिडितहरुलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी पनौती उपशाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो ।
नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका निवर्तमान सभापति रघुनाथ हुमागाईंले शुभारम्भ गर्नुभएको रक्तदान कार्यक्रममा ५४ जना रक्तदाताहरुले रक्तदान गरिएको उपशाखाका सभापति राजु ताम्राकारले जानकारी दिनुभयो । यस्ता रक्तदान कार्यक्रमहरु लगायत रेडक्रसबाट आव्हान भएका वार्षिक कार्यक्रमहरु समेत राखिँदै गएको उपशाखा सभापति ताम्राकारले उल्लेख गर्नुभयो ।

