काठमाडौं । अग्रज सञ्चारकर्मी नवराज बजगाईं सम्मानित भएका छन् । शनिबार नेपाल पुलिस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिसेस ब्युटिफुल नेपाल’ को नवौं तथा मिस ब्युटिफुल नेपालको दशौं संस्करणको ग्राण्ड फिनालेको अवसरमा आयोजित विशेष कार्यक्रममा बजगाईंलाई सम्मान गरिएको हो ।
विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईंलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्याएबापत सम्मान गरिएको दक्ष ईन्टरनेशनलका प्रमुख एवं कार्यक्रम संयोजकसमेत रहेका मेकअप आर्टिष्ट टेकराज पाण्डेले बताए । सम्मानका साथै बजगाईंले कला, साहित्य र समाजसेवाको क्षेत्रमा समेत योगदान पुर्याएकोमा ग्लोबल स्टार अवार्ड–२०२५ को तर्फबाट नव क्षितिज साप्ताहिकको रजत गीत सुशासनका लागि उत्कृष्ट शव्द रचनाको अवार्डसमेत प्रदान गरिएको थियो । उक्त गीतको शव्द रचना पत्रकार बजगाईंले गरेका थिए । कार्यक्रममा प्रमुख पाण्डे, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ संगितकार शम्भुजित बाँस्कोटालगायतले सम्मान गरेका थिए ।
साथै बेस्ट राईटर अवार्ड माननीय चन्द्र भण्डारी, पूर्वमन्त्री दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय सभा सदस्य बिष्णुकुमारी सापकोटा र कार्यक्रम निर्देशक टेकराज पाण्डे, बरिस्ठ कलाकारहरु रमेश उप्रेती, मोहन निरौला, रमेश बुढाथोकीलगायतले प्रदान गरेका थिए ।

‘विगत लामो समयदेखि निरन्तर पत्रकारिता र समाज सेवाको माध्यमबाट यहाँले समाज रुपान्तरणमा पुर्याउनु भएको योगदान अतुलनीय छ । मोफसलमा रहेर पनि आफ्नो आवाज र कलम समाजप्रति समर्पित गर्दै समृद्ध नेपाल निर्माणमा खेल्नु भएको भूमिका महत्वपूर्ण छ । साथै सामाजिक कार्य र समाज सेवामा तपाईंले पुर्याउनु भएको योगदान झनै उत्कृष्ट रहेको छ । रंग पत्रकारितामार्फत कला क्षेत्रलाई गरेको मायासमेतको उच्च प्रशंसा गर्दै तपाईंलाई यो सम्मान अर्पण गर्दछौं’–सम्मान पत्रमा भनिएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक/प्रधान सम्पादक रहेका बजगाईं काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयाँगाउँ गा.वि.स.–७, हाल मण्डनदेउपुर नपा–४, का बजगाईं यसअघि पनि बिभिन्न संघ संस्थाबाट सञ्चार र समाज सेवामा योगदान पुर्याए बापत सम्मानित भइसकेका छन् । बजगाईं पत्रकारितासँगै कलाकारिता, साहित्य र समाजसेवामा क्रियाशील रहेका छन् ।
