एक वर्षमा नेपालमा बस्नका लागि २ हजार ३ सय विदेशीले श्रम स्वीकृति लिएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार हाल ७४ देशका नागरिकहरु नेपालमा अनुमति लिएर बसिरहेका छन् ।
विभागका अनुसार २०८१÷८२ मा ७०० जना विदेशीले नेपालमा बस्नका लागि श्रम इजाजत दिइएको छ भने १ हजार ६ सय जना पहिल्यैदेखि नेपालमा बस्दै आएका विदेशीले श्रम इजाजत नवीकरण गरेका छन् । भारत, चीन, अमेरिका लगायतका देशका नागरिकहरु नेपालमा श्रम इजाजत लिएर बसिरहेका छन् । उनीहरु पूर्वाधार निर्माणदेखि व्यवसायजन्य कार्यमा नेपालमा इजाजत लिएर बसिरहेका हुन् । अनिवार्य श्रम स्वीकृति नवीकरण तथा नयाँ श्रम स्वीकृति लिई नेपालमा काम गरेर बस्न नेपालको श्रम ऐनले कानूनअनुसार अनुमति दिने गरेको छ ।
श्रम ऐनले दक्ष गैरनेपाली नागरिकलाई श्रम इजाजत दिने व्यवस्था गरेको छ । कुनै दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नभएमा व्यवस्थापकले सो कुराको प्रमाणसहित गैरनेपाली नागरिक नियुक्ति गर्ने स्वीकृतिको लागि श्रम विभागमा निवेदन दिनसक्ने व्यवस्था छ । दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नहुने देखिएमा श्रम विभागले श्रम कार्यालयको सिफारिसमा एक पटकमा एक वर्षमा दिने र विशिष्ट प्रकारका दक्ष प्राविधिक पदमा बढीमा १२ वर्षसम्म गैरनेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्नेछ ।
नेपालमा स्वीकृति लिएर बस्नेहरुभन्दा पनि नलिइ बस्ने भारतीयको संख्या धेरै ठूलो छ । खुला सीमानाका कारण भारतबाट ठूलो संख्यामा भारतीयहरु आएर नेपालको श्रमबजारमा क्रियाशील छन् । भारतीय नागरिकहरु कति नेपालमा आएर काम गरिरहेका छन् भन्ने सरकारले अहिलेसम्म रेकर्ड राख्न सकेको छैन । कपाल काट्ने, सागबेच्ने र निर्माण कार्यसम्ममा नै भारतीयहरुको वर्चश्व देखिन्छ ।
नेपालबाट भारतीयले वर्षमा अर्बौं रेमिट्यान्स लैजाने गरेका छन् । अमेरिकी अनुसन्धान संस्था पियु रिसर्चले गरेको अनुसन्धानमा अध्ययनअनुसार नेपालबाट सबैभन्दा धेरै रेमिट्यान्स भारतले लैजाने गरेको देखिएको थियो । सन् २०१७ मा नेपालबाट भारतमा तीन खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स गएको थियो । यो हिस्सा नेपालबाट बाहिरिने कुल रेमिट्यान्सको ३.४० प्रतिशत थियो । भारतका लागि नेपाल रेमिट्यान्स स्रोत मुलुकको सूचीमा आठौं स्थानमा त्यतिबेलाको अनुसन्धानबाट देखिएको थियो ।
अध्ययन भएकै वर्ष भारतबाट नेपालमा भने करिब एक खर्ब २३ अर्ब रुपैयाँको रेमिट्यान्स आएको देखिएको थियो । यसअनुसार भारतबाट आउनेभन्दा नेपालबाट भारत जाने रेमिट्यान्स करिब दुई गुणा बढी रहेको पाइएको थियो ।
यस्तै, अहिले नेपालमा श्रमिक आपूर्तिकर्ता कम्पनीहरु पनि छन् । विभागका अनुसार ५२ वटा त्यस्ता कम्पनी नेपालमा दर्ता भएका छन् भने ४ सय २० वटा पहिल्यैबाट सञ्चालित त्यस्ता कम्पनीहरु गत आवमा नवीकरण भएको विभागको तथ्यांकले देखाउँछ । यसरी हेर्दा नेपालीहरु भने कामकै लागि अर्बौं खर्चेर विदेश जाने तर नेपालमा कामका लागि विदेशी आउने, यो भन्दा विडम्बना के होला र ? नेपालीलाई स्वदेशमै काम दिन सरकारले सोच्नु पर्दैन ?
