गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा भदौ २३ गतेसम्म कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ ।
कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात छ । यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ । बाढीपछि सरकारले राहत र पुनस्र्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो ।
यो विपदमा देश विदेशबाट सहयोग आइरहेको छ । यसैबीच काभ्रे जिल्लाबाट पनि उल्लेख्य सहयोग जुटेको छ । निजी तथा आवासीय विद्यालयहरूको छाता संस्था प्याब्सन काभ्रेले ठूलो सहयोग गरेको छ । प्याब्सन काभ्रेमा आबद्ध जिल्लाभरका विद्यालयमध्ये ७४ सदस्य विद्यालयबाट संकलित ३६ लाख ३६ हजार ४२४ रुपैयाँ बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
उता १३ वटा पालिका रहेको जिल्लाका सबैजसो पालिकाले आफूले सकेको सहयोग गरिरहेका छन् । यस्तै सहकारी संस्थाहरुको पनि उल्लेख्य सहयोग छ भने व्यक्तिगतरुपमा सहयोग गर्नेहरुको पनि कमी छैन । आफूले गाँस कटाएर भए पनि पीडितहरुको अवस्था देखेर सहयोग गर्नेहरु दिनदिनै बढीरहेका छन् । यसले समस्या पर्दा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गरेको छ । हिजोका विपतीहरु बाढीपहिरो र भूकम्पलगायतमा पनि नागरिकहरुले यस्तो सहयोग गरेका थिए ।
यो पक्ष एकातिर छँदैछ, अर्को कुरा संकलित यो रकम सरकारले कसरी परिचालन गर्छ भन्ने विषय महत्वपूर्ण हो । हुन त खर्बौंको क्षति एकैपटक पूर्ति गर्न सजिलो छैन तर पनि भएको रकमबाट पीडितहरुलाई समान वितरण गर्न सक्यौं भने मात्र नागरिकले सरकार भएको आभास गर्ने थिए । यसतर्फ अब योजना बनाएर प्याकेजका कार्यक्रम ल्याउँदै पुनर्निर्माणमा ध्यान दिनु आजको आवश्यकता हो ।
