गत वैशाखदेखि साउन २४ गतेसम्म कुल दुई हजार छ सय ७५ विपद्का घटना भएका छन् । ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । विपद्का घटनामा परेर एक सय १७ जनाको ज्यान गएको छ भने पाँच सय ६४ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा बाढीजन्य एक सय ९८ घटना हुँदा १६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता भएका छन् । बाढीबाट एक हजार ३१३ घरपरिवार प्रभावित भएका छन् ।
प्राधिकरणको विवरणअनुसार पहिरोका कुल दुई सय ८१ घटना भएका छन् । त्यसमा परेर १३ जनाको ज्यान जाँदा १७ जना घाइते भएका छन् । यस्तै, भारी वर्षाका कारण एक सय ७४, चट्याङका दुई सय ४४, सर्पदंशका ७४, आगलागीका एक हजार ६६, वन डढेलोका एक सय ५८, हावाहुरीका दुई सय ७६, जनावर आक्रमणका एक सय ५३, लेक लागेर ४१, भूकम्पका पाँच घटना भएका छन् । विपद्जन्य घटनाका कारण चार हजार सात सय २५ घरपरिवार प्रभावित भएका छन् । त्यसमा परेर २२ जना बेपत्ता भएका छन् ।
यस्तै, साउन २४ गतेसम्म मात्रै ३५ विपद्का घटना भएका छन् । त्यसमा सबैभन्दा बढी पहिरोका १३, आगलागीका चार, बाढी एक, अविरल वर्षा पाँच, चट्याङ एक, लेक लागेको दुई र जनावरको आक्रमणबाट एउटा घटना भएको छ । ती घटनामा परेर ६ जना घाइते भएका छन् ।
यसरी हेर्दा सरकार विपद् न्यूनिकरणमा यो वर्ष पनि चुकेको छ । विभिन्न अध्ययनले यस वर्ष धेरै वर्षा हुन सक्ने र २० लाख मानिस प्रभावित हुन सक्ने भन्दै सरकारलाई सतर्क र पूर्वतयारी रहन सुझाव दिएको थियो । तर सरकारको काम गर्ने शैली पुरानै भएकाले सुझाव कार्यान्वयनमा ध्यान पुगेन । त्यसैले यो वर्ष पनि क्षति घट्न सकेन । मानवीय होस् वा भौतिक र आर्थिक क्षति उस्तै रहेको छ । अझै वर्षाको समय बाँकी छ । सोचेजति अझै वर्षा भइसकेको छैन । त्यसैले क्षति बढ्ने अनुमान गर्न सकिन्छ । विपद् व्यवस्थापन र न्यूनिकरणमा देशका तीन वटै सरकारहरुले खासै ध्यान नदिएको देखिन्छ । प्राकृतिक प्रकोप पूर्णरुपमा नियन्त्रण गर्न त सकिँदैन तर समयमै ध्यान दिने हो भने यसबाट हुनसक्ने क्षति कम गराउन भने सकिन्छ । हरेक वर्ष निम्तिने समस्यालाई पनि बेलैमा ध्यान नदिँदा वर्षेनी अर्बौंको क्षति भइरहेको छ । यसमा अब कहिले सोच्ने सरकार ?
