काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का माझी महिलाहरू गलैँचा बुनेर आम्दानी गर्न थालेपछि निकै खुशी देखिन्छन् । आफ्नै उद्यमशिलतामा रमाउँदा उनीहरु निकै उत्साहित पनि छन् ।
ती मध्येकी एक हुन्, पविना माझी । उनी लामो समयसम्म माछा मार्ने र हिउँदभरि खोलामा बालुवा चालेर जीविकोपार्जन गर्दै आइरहेकी थिइन् । पछिल्लो दुई वर्षयता भने गलैंचा बुन्न थालेपछि जीवनयापनमा निकै सहज भएको उनी बताउँछिन् ।
पविना माझीको बस्तीका महिला यतिबेला गलैंचा बुनेरै जीविकोपार्जन गरिरहेका छन् । धेरैजसो माझी समुदायका महिलाहरूले गलैँचा बुन्ने सीपबाट आम्दानी गरिरहेका छन् ।
पुख्र्यौली पेशा खोलामा माछा मार्ने, बालुवा चाल्ने कामले घरायसी जिम्मेवारी चलाउन, छोराछोरीलाई पढाउन र आधारभूत आवश्यकता पूरा गर्न पनि धौधौ हुन्थ्यो, तर गलैँचा बुन्ने सीप सिकेपछि जीवनयापनमा सहज भएको स्थानीय सोममाया माझी बताउँछिन् ।
खेतीपाती र घरायसी काम सकेर बिहान र बेलुकीको समयमा गलैँचा बुन्दा महिनामा कम्तीमा १० हजार कमाई हुने गरेको बताउँछिन् । नगरपालिका वडा नं ११ का वडाअध्यक्ष रोशन गिरीले ६० घरपरिवारलाई वडा कार्यालयले निःशुल्क वितरण गरेको तानबाट गलैँचा बुन्ने काम भइरहेको बताए ।
यसरी बुनिएका गलैँचा राजधानी काठमाडौँ लगेर बिक्री गर्ने र कच्चापदार्थ पनि सोही ठाउँबाट आउने व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन् । ‘हाल यहाँका २० वर्षदेखि ५० वर्ष उमेर पुगेकाहरू पनि गलैँचा बुन्नमा व्यस्त छन् । महिलाहरूलाई पुरुष सदस्यले पनि साथ दिन थालेका छन् । यसले माझी महिलाहरुको लागि आम्दानीको आधार बनेको छ । वडाध्यक्ष गिरीका अनुसार महिलाको सीप विकास र क्षमता अभिवृद्धि गरेरै उनीहरूलाई उद्यमी बन्न प्रेरित गरिरहेको र यो वर्ष थप ४० थान तान वितरण गरिएको छ ।
माझी समुदायका महिलाहरुले गलैँचा बुनेर पैसा कमाउन थालेपछि भीमटारका अन्य समुदायका महिलाले पनि गलैँचा बुन्न सिक्न थालेका छन् । यसले बिस्तारै महिला आर्थिक उन्नति गर्दै आत्मनिर्भर बन्न थालेका छन् । चौतारासाँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिकाले समृद्ध नगर निर्माणका लागि पर्यटन, कृषिसँगै स्थानीय उत्पादन र सीपलाई विशेष जोड दिएको बताए । युवा, महिला र पिछडिएको वर्गलाई लक्षित गर्दै विभिन्न सीपमूलक कार्यक्रम गर्दै रोजगार सिर्जनाको प्रयास भइरहेको उनको भनाइ छ ।
