धुलिखेल । वर्षाका कारण रोकिएको अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक –धुलिखेल सडकखण्डमा स्तरोन्नतिको काम पुनः सुरु भएको छ । बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा ‘पिच’ गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ ।
सडक पिच गर्नका लागि ‘सिटिबी’ को काम भइरहेको सूर्यविनायक– धुलिखेल, धुलिखेल– सिन्धुली– बर्दिबास सडक आयोजनाले जनाएको छ । जनागालबाट भैँसेपाटी हुँदै साँगातर्फ ‘सिटिबी’को काम सुरु भएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए । उनका अनुसार यसअघि असार र साउन महिनामा मनसुनका कारण विस्तार कार्य रोकिएको थियो ।
बनेपाको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण करिब छ महिनादेखि काम ठप्प अवस्थामा नै रहेको छ । सो क्षेत्रको करिब २०० मिटर क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि विस्तार कार्य रोकिएको हो ।
सेन्टर लाइनबाट दायाँबायाँ ७५÷७५ फिट (१५० फिट) मध्ये पनि १४० फिटमा काम भइरहेकामा स्थानीयले दुवैतर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माण कार्य अवरुद्ध पारेको जनाइएको छ ।
यसअघि विभिन्न निकायको समन्वयमा अवरोध हटाउन प्रयास गरिए पनि समस्या सुल्झेको छैन । हाल बनेपाको पूर्वीतर्फको चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको ढल निर्माण कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *