बनेपा । चाडपर्व नजिकिँदै गर्दा जिल्लास्तरीय अनुगमन समिति काभ्रेले बजार अनुगमनलाई तिव्रता दिएको छ ।
भदौ १६, १७ र १८ गते बनेपामा बजार अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रे, उद्योग वाणिज्य कार्यालय, धुलिखेल, बनेपा नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला समन्वय समिति र काभ्रे उद्योग वाणिज्य संघको समन्वयमा बनेपामा बजार अनुगमन गरिएको हो ।
विशेषगरि मसला, मिठाई, खाद्यान्न र किराना पसलहरुको अनुगमन गरिएको बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटाले जानकारी दिनुभयो । अनुगमनका क्रममा बनेपामा रहेका मसला पसलहरु दर्ता बिना सञ्चालन गरिएको पाइएको छ ।

यस्तै म्याद गुज्रिएका सामाग्री बेचिएको, सरसफाई नभएको तथा लेबल नभएको फेला परेकाले नष्ट गरिएको अनुगमन संयोजक एवं जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो । अनुगमनका क्रममा बनेपामा रहेको काभ्रे बेकरी, चण्डेश्वरी ड्राई फुड र चण्डेश्वरी मसला तथा किराना पसललाई १० हजारका दरले जरिवाना गरिएको छ । यस्तै अनुमति बिना संचालनमा रहेका दर्जनौं कन्सल्टेन्सीहरुलाई पनि कारबाही गरिएको छ ।
