बनेपा । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सेवा प्रदान गर्न काभ्रेपलाञ्चोक जिल्लाका दुई आधारभूत अस्पतालले स्वीकृति पाएसँगै बनेपा नगरपालिकाले सञ्चालन गरेको बनेपा आधारभूत अस्पताल नालाले सेवा शुरु गरेको छ ।
यो अस्पतालले भदौ २२ गतेदेखि सेवा शुरु गरेको हो । नगरप्रमुख शान्तिरत्न शाक्य, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेलगायतले सेवाको शुभारम्भ गर्नुभयो ।
भदौ १ गते मण्डनदेउपुरले सञ्चालनमा ल्याएको आधारभूत अस्पताल र बनेपा नगर अस्पताल स्वास्थ्य बीमा बोर्डमा आवद्ध भएका हुन् । बीमा बोर्डमा भएको कार्यक्रममा दुवै अस्पतालले सम्झौता गरेसँगै स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सञ्चालन गर्न स्वीकृति पाएका हुन् ।
मण्डनदेउपुर आधारभूत अस्पताल ५ वेडको हो । स्वास्थ्य वीमा कार्यक्रम सम्झौताका लागि नगरप्रमुख टोकबहादुर वाईवा, उपप्रमुख विष्णुमणि नेपाल, वडा नम्बर १० का वडा अध्यक्ष कुमार लामा र अस्पतालका डा. सुरज श्रेष्ठ पुग्नु भएको थियो ।
सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख वाईवा र अस्पतालका डा. श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ भने बीमा बोर्डका तर्फबाट कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले हस्ताक्षर गर्नुभएको छ ।
बनेपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने र अस्पतालका डाक्टरले हस्ताक्षर गरेका थिए । यो सँगै जिल्लामा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु सञ्चालनका लागि काभ्रेपलाञ्चोकमा अनुमति पाउने सरकारी स्वास्थ्य संस्थाको संख्या ७ पुगेको छ । यसअघि सुनथान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र र मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृति पाइसकेका छन् ।
स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्था नै हुने नियम साउन १ गतेबाट लागु भएको हो ।
