धुलिखेल । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८२÷०८३ का लागि विद्यार्थी भर्नामा २० प्रतिशतभन्दा माथि बृद्धि हुने आँकलन गरेको छ । गत वर्ष पाँच हजारभन्दा बढी विद्यार्थी भर्ना भएका यस विश्वविद्यालयमा यस वर्ष ६ हजार नाघ्ने अनुमान गरिएको हो ।
विश्वविद्यालयमा बिहीबार आयोजित शुभदीपावलीलगायत अन्य पर्वको शुभकामना आदानप्रदान तथा पत्रकार सम्मेलनमा उपकुलपति प्राडा अच्युत वाग्लेले यसको जानकारी दिनुभएको हो । यो बृद्धिले विश्वविद्यालयको शैक्षिक प्रतिष्ठा, कार्यक्रम विस्तार र देशभरको पहुँच विस्तारलाई प्रतिबिम्वित गर्ने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार स्कूल अफ इन्जिनियरिङ र स्कूल अफ साइन्सको स्नातक तहको भर्ना प्रक्रिया अन्तिम चरणमा छ भने अन्य स्कूलहरूमा स्नातक तथा स्नातकोत्तर भर्ना प्रक्रिया जारी छ । यस वर्ष इन्जिनियरिङमा गत वर्षको तुलनामा ३०० भन्दा बढी नयाँ विद्यार्थी र विज्ञानमा ९० जनाभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । आर्टस, म्यानेजमेन्ट र एजुकेसनमा करिब ३०० विद्यार्थी भर्नाको अपेक्षा गरिएको छ । साथै, मेडिकल साइन्सेजमा राष्ट्रिय चिकित्सा परिषद्को स्वीकृतिका आधारमा ४०० भन्दा बढी अतिरिक्त सिट थपिने अपेक्षा छ ।
भर्नामा यो बृद्धि विश्वविद्यालयका बहुविषयक कार्यक्रम, शैक्षिक पूर्वाधार सुदृढीकरण र गुणस्तरिय शिक्षाप्रति प्रतिबद्धताको परिणाम हो। साथै, छात्रवृत्ति विस्तार, उद्योगसँगको सहकार्य र प्रादेशीक पहुँच कार्यक्रमहरूले विविध र समावेशी विद्यार्थी समूह निर्माणमा सहयोग गरेका छन् ।
विदेशी प्राध्यापक नियुक्ति
काठमाडौं विश्वविद्यालयले आफ्ना शैक्षिक र अनुसन्धान गतिविधिहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विदेशी प्राध्यापक नियुक्तिमा ठोस कदम चालेको छ। विश्वविद्यालयले २०२५ जुलाईमा कम्तीमा एक सत्रका लागि विश्वविद्यालयमै उपस्थित भई अध्यापन गर्न इच्छुक विदेशी प्राध्यापकहरूबाट अभिरुची आह्वान गरेको थियो । जसमा विश्वभरका ४५० भन्दा बढी प्राध्यापकहरूबाट अभिरुची प्राप्त भएका थिए ।
विश्वविद्यालयले यस शैक्षिक सत्र (२०८२÷८३) का लागि १२ जना विदेशी प्राध्यापक नियुक्त गरेको जनाएको छ। स्कूल अफ आर्टस, स्कूल अफ एजुकेसन, स्कूल अफ मेडिकल साइन्सेज र स्कूल अफ साइन्समा प्राध्यापकहरू नियुक्त भइसकेका छन्। ताइवान, भारत, अमेरिका, चीन, दक्षिण कोरियालगायत देशका प्राध्यापकहरूले अध्यापन गर्ने भएका हुन् । विश्वविद्यालयले निकट भविष्यमा विदेशी प्राध्यापकको सङ्ख्या १० प्रतिशत बनाउने लक्ष्य राखेको छ ।
शिक्षाको अन्तर्राष्ट्रियकरणमा विश्वविद्यालयले सुरुवातदेखि नै जोड दिँदै आएको छ । विगत तीन दशकमा विश्वविद्यालयबाट दीक्षित हुनेमध्ये १२ प्रतिशत विद्यार्थी विदेशी रहेका छन्। हालसम्म ५५ देशका करिब ५ हजार ६ सय ६० विद्यार्थी विश्वविद्यालयबाट दीक्षित भएका छन् । साथै ४१ देशका २९० भन्दा बढी अन्तर्राष्ट्रिय प्राज्ञिक तथा अनुसन्धानमा आधारित संस्थाहरूसँग विश्वविद्यालयको सहकार्य रहेको छ ।
काठमाडौँ विश्वविद्यालय सूचना प्रविधि केन्द्र (KU IT Centre) स्थापना
काठमाडौं विश्वविद्यालयले यस वर्ष आधिकारिकरूपमा आफ्नै सूचना प्रविधि केन्द्र (ITC) स्थापना गरेको छ। यो केन्द्र नेपालको अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्व प्रवद्र्धन गर्ने दीर्घकालीन दृष्टिकोणसहित स्थापना गरिएको हो ।
यस केन्द्रले तीन मुख्य एकाइमार्फत कार्य गर्नेछ ः
१. High–Performance Computing (HPC) Unit: जटिल अनुसन्धानका लागि सुपर कम्प्युटिङ क्लस्टर सञ्चालन गर्ने ।
२. Artificial Intelligence Excellence (AIE) Unit: राष्ट्रिय AI नीति कार्यान्वयन, स्थानीय डेटा प्रयोग गरेर अनुसन्धान र नैतिक रूपरेखा विकास गर्ने ।
३. Crisis Informatics Research (CIR) Unit: भूकम्प, महामारी, बाढीजस्ता आपतकालीन अवस्थाहरूमा निर्णय–सहयोग प्रणाली विकास गर्ने ।
KU Connect मोबाइल एपको सफ्ट लञ्च
KU Connect काठमाडौं विश्वविद्यालयको आधिकारिक मोबाइल एप हो, जसले विद्यार्थीहरूलाई शैक्षिक, प्रशासनिक र क्याम्पससम्बन्धी जानकारीमा सहज पहुँच प्रदान गर्दछ ।
मुख्य विशेषताहरू ः
–विद्यार्थी प्रोफाइल व्यवस्थापन
–सूचना र सूचनापत्रहरूमा तुरुन्त पहुँच
–विश्वविद्यालयका समाचार, परीक्षा परिणाम र कार्यक्रमहरू
–पठनपाठन सम्बन्धी विवरण र कोर्स सूची
–शुल्क विवरण र भुक्तानी रेकर्ड
–प्रमाणपत्र तथा प्रतिलिपि अनुरोध सेवा
यस एपले विश्वविद्यालयको Resource Management System (RMS) सँग प्रत्यक्ष एकीकृत भएर कोठा आरक्षण, स्रोत व्यवस्थापन र कक्षा तालिका जस्ता सेवामा सहजता ल्याउँछ ।
सातै प्रदेशमा सम्बन्धन तथा छात्रवृत्ति विस्तार
देशभर गुणस्तरीय उच्च शिक्षाको पहुँच विस्तार र सहकार्यद्वारा शैक्षिक उत्कृष्टता प्रबद्र्धन गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालयले केही स्नातक कार्यक्रमहरूमा सम्बन्धन प्रक्रिया शुरु गरेको छ। विश्वविद्यालयले पारदर्शी हिसाबले सम्बन्धन दिने उद्देश्यले सार्वजनिक सूचनामार्फत आशयपत्र आह्वान गर्दा देशभरका विभिन्न शिक्षण संस्थाबाट ८८ वटा आशयपत्र प्राप्त भएका थिए ।
विश्वविद्यालयको कार्यक्रम विस्तार नीति अनुसार सञ्चालन गरिएको उक्त सम्बन्धन प्रक्रियामा पूर्वाधार, शैक्षिक जनशक्ति, वित्तीय सुदृढता, प्रस्तावित कार्यक्रमको स्पष्टता, प्रादेशिक प्रतिनिधित्व र स्वमूल्याङ्कनजस्ता मापदण्डहरूका आधारमा मूल्याङ्कन गरिएको छ ।
हालसम्म स्कूल अफ आर्टस र स्कूल अफ एजुकेशन अन्तर्गत जम्मा १० वटा शिक्षण संस्थालाई सम्वन्धन दिइसकिएको छ । स्कूल अफ इन्जिनियरिङ र स्कूल अफ म्यानेजमेन्ट अन्तर्गतका सम्बन्धनका कार्यक्रमहरूको मूल्याङ्कन प्रक्रिया जारी छ। यसैगरी, विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि सातै प्रदेशमा छात्रवृत्ति कार्यक्रम विस्तार गरेको छ। यो कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशका ६ जना उत्कृष्ट कक्षा १२ का विद्यार्थीहरूले १०० प्रतिशत शुल्क छुट पाउनेछन् ।
उपकुलपतिद्वारा प्रस्तावित नीति अन्तर्गत यो कार्यक्रम रजिस्ट्रारको कार्यालयको नेतृत्वमा कार्यान्वयन भइरहेको छ। यसमा केन्द्रीय कार्यालय, स्कूल अफ साइन्स र इन्जिनियरिङका टोलीहरू संलग्न छन् । कार्यक्रमको आवेदन र छनोट प्रक्रिया सम्बन्धित प्रदेशका मन्त्रालयहरूसँगको सहकार्यमा सम्पन्न हुँदैछ ।
यस पहलमा कोशी, वागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालय, मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोग रहेको विश्वविद्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *