सिन्धुपाल्चोक । थाङ्पालधाप साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ टारमा सम्पन्न भएको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यतामा गाउँपालिका सभाहलमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले सहकारी भनेको किसानहरुको बैंक भएकाले यसको छुट्टै महत्व रहेको बताउनुभयो । लामाले सदस्यहरुको बृद्धि विकासमा जोड दिनु नै सहकारीको मुख्य उद्देश्य रहेकाले सहकारीलाई आफ्नो मूल्य, मान्यता र विधिमा चलाउन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि लामाले सदस्यहरुका छोराछोरीको पठनपाठन लगायत क्षमता र नेतृत्व विकासमा समेत ध्यान दिन आग्रह गर्नुभयो । देशमा ठूला ठूला सहकारीहरु विधिमा नचलेकै कारण अहिले डुबेको समाचारहरु आइरहेको भन्दै सहकारीलाई विधिमा चलाउन आग्रह गर्नुभयो ।
गाउँपालिकाभरि किसानले उत्पादन गरेका वस्तुको संकलन गरि ढुवानी गर्न पालिकाले सहजिकरण गर्ने भन्दै किसानलाई ब्यवसायिक बन्न आग्रह गर्नुभयो । कार्यक्रममा सल्लाहकार समितिका संयोजक माधव पाण्डेले सहकारीमा लगानी गरिसकेपछि सहकारीले के गर्दै छ र के के मा लगानी गर्यो भनेर विशेष चासो दिन सुझाव दिनुभयो । हामीले हाम्रो लागि र हामीद्वारा नै संचालित हुने भएकाले पनि सहकारी संस्थाको लोकप्रियता रहेको उहाँले बताउनुभयो । राज्यको तीन खम्बे अर्थनीति अनुसार सहकारी पनि एउटा खम्बा भएकाले समुदायमा आधारित कार्यक्रमहरु संचालन गर्नका लागि र समुदायलाई समृद्ध बनाउनका लागि सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले महिलाहरुलाई ऋण नै नपत्याउने समाजमा सहकारीले अहिले आत्मनिर्भर बनाउन सहयोग गरेको बताउनुभयो । उहाँले गाउँपालिकामा रहेका सहकारीहरु मध्ये यो सहकारी अब्बल रहेको भन्दै सेवा प्रवाह गर्दा अझै सहज र व्यवसायमूखी सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताउनुभयो ।
सहकारीका पूर्वअध्यक्ष शिशिर वाइबाले सहकारीका शेयर सदस्यले कुनै योजना बनाएर आएमा सहकारीले लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले ठूलो संघर्षबाट सहकारी यो स्थानसम्म आएको भन्दै अझै मिहेनत गर्नुपर्नेमा जोड दिनुभयो । सकारात्मक सोच र सकारात्मक दृष्टिकोणबाट हेरेमा हरेक ठाउँमा अनेक सम्भावना देखिने भन्दै वाइबाले ज्ञान सीपको आवश्यक परेमा संस्थालाई सुझाव दिन आग्रह गर्नुभयो । जिल्ला सहकारी संघ सिन्धुपाल्चोकका अध्यक्ष मित्रलाल चौलागाईंले सहकारीमार्फत समतामूलक समाज निर्माणमा बल पुग्ने बताउनुभयो । उहाँले सहकारीबाट ऋण लिएर ढुक्कसँग लगानी गर्नसमेत आग्रह गर्नुभयो । आफूले पाउने लाभांश, आफूले गरेको बचत, लगानी लगायतका बारेमा सधैं चासो राख्न सुझाव दिँदै चौलागाईंले ब्यवसायिक बन्नका लागि सहकारीबाट ऋण लिन सुझाव दिनुभयो ।
कृषिमा अत्यधिक व्यक्ति संलग्न रहे पनि हाम्रो परम्परागत निर्वाहमूखी खेतीका कारण फाइदा लिनुपर्ने वर्गले फाइदा लिन नसकेको उहाँले जिकिर गर्नुभयो । कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष नारायण भट्टराई, सहकारी शाखाका प्रमुख धुर्व लामिछाने, लगायतले सहकारीको संख्या भन्दा पनि सहकारीले दिने सेवालाई गुणस्तरीय कसरी बनाउने भन्ने बिषयमा गाउँपलिका केन्द्रित रहेको बताउनुभयो । कुनै समस्या, गुनासा भए यस्तै साधारणसभामा राखेर छलफल गरि दिशानिर्देश गरेर अगाडि बढ्नुपर्ने उहाँहरुको भनाइ थियो ।
कार्यक्रममा असल ऋणी,असल बचतकर्ता, बाल बचतकर्ता लगायतलाई सम्मान गरिएको थियो भने शेयर लाभांस पनि वितरण गरिएको थियो । कार्यक्रममा कलाकार हरि थापा, गीता तामाङ लगायतले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाको आगामी कार्यक्रम सहकारीका अध्यक्ष बाबुराम पौडेलले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन सहकारीकी प्रबन्धक प्रतिज्ञा पौडेलले प्रस्तुत गर्नुभएको थियो । ७२८ शेयर सदस्य रहेको सहकारीको नगद मौज्दात २ लाख ५ हजार, बैंक मौज्दात १ करोड ३६ लाख, शेयर लगानी ७ लाख १४ हजार रहेको छ भने ऋण लगानी ५ करोड १७ लाख रहेको छ । ६ करोड ९७ लाख ७३ हजार सन्तुलित परिक्षण कारोबार रहेको सहकारीको सदस्यहरुलाई व्यवसायिक योजना निर्माण गरि व्यवसायिक गर्न प्रोत्साहन गर्ने योजना रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।
