सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा “शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन: समृद्ध पाँचपोखरीको मूलधन” भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचपोखरी सिकाइ मेला–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना तथा श्री क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयको सह–आयोजनामा सम्पन्न मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष टासी लामाले गर्नुभएको हो ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष लामाले शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक, सीपमूलक र स्थानीय आवश्यकतासँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
“विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सके मात्रै शिक्षा सार्थक हुने भन्दै यस्ता सिकाइ मेलाले विद्यार्थीको सिर्जनशीलता उजागर गर्नुका साथै कृषि, स्वास्थ्य र पर्यटनजस्ता क्षेत्रसँग शिक्षा जोड्न मद्दत पुर्याउने बताउनुभयो ।

श्री क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित मेलामा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले शैक्षिक परियोजना, विज्ञान तथा प्रविधि सामाग्री, कृषि उत्पादन, स्थानीय सीप र सिर्जनात्मक प्रदर्शनी प्रस्तुत गरेका थिए । मेलामा विद्यार्थीहरूको सक्रिय सहभागिता देखिएको थियो ।

विद्यालयका प्रधानाध्यापक भानुभक्त धितालले यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, प्रस्तुतीकरण क्षमता र व्यवहारिक ज्ञानमा उल्लेखनीय सुधार आउने बताउनुभयो ।
“पाठ्यक्रमलाई जीवनसँग जोड्ने माध्यमका रूपमा सिकाइ मेला अत्यन्त उपयोगी रहेकाे भन्दै विद्यार्थीहरूमा नयाँ सोच, अनुसन्धान गर्ने बानी र नेतृत्व विकासमा यस्ता कार्यक्रम प्रभावकारी देखिएको उहाँले प्रतिक्रिया दिनुभयो ।

मेलाको अवलोकनका क्रममा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले स्थानीय तहमा शिक्षा, कृषि र पर्यटनलाई जोड्ने यस्ता रचनात्मक कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

पाँचपोखरी थाङपाल गाउँपालिकाले आगामी दिनमा पनि व्यवहारिक सिकाइ, सीप विकास र स्थानीय विकासलाई केन्द्रमा राखेर यस्ता शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । कार्यक्रममा रोबर्टबाट कैँची प्रदान गरि प्रमुख अतिथिले उद्घाटन गर्नुभएको थियो । १० वटा माध्यमिक र ९ वटा आधारभूत गरि १९ वटा विद्यालय सहभागि रहेको मेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *