बनेपा । नेपाल शिक्षक संघ काभ्रेको २४ औं जिल्ला प्रतिनिधि सभा सम्पन्न भएको छ ।

शनिबार बनेपामा सम्पन्न कार्यक्रममा आगामी फागुन २१ गतेका लागि तय निर्वाचनमा काभ्रेबाट कांग्रेसका उम्मेदवारहरु क्षेत्र नम्बर १ का गुणराज मुक्तान र क्षेत्र नम्बर २ का मधु आचार्यलगायत विभिन्न नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी कांग्रेसका केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर २ का उम्मेदवार मधु आचार्य हुनुहुन्थ्यो । यस्तै विशेष अतिथी क्षेत्र नम्बर १ का उम्मेदवार गुणराज मुक्तान हुनुहुन्थ्यो ।

कार्यक्रममा क्षेत्र नम्बर १ का उम्मेदवार मुक्तानले कार्यक्रम सफलताको कामना गर्दै कांग्रेस अब नयाँ भएकाले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गर्नुभयो । यस्तै प्रमुख अतिथी आचार्यले यतिबेला कोही नयाँ भनेर आउँछ भने त्यो नेपाली कांग्रेस मात्रै भएको उल्लेख गर्दै सिद्धान्त र व्यवहार हेरेर मतदान गर्न सबैलाई अनुरोध गर्नुभयो ।

कांग्रेस काभ्रे क्षेत्र नम्बर १ का सभापति दिनेश लामाले नेपालका विभिन्न संक्रमणकालमा कांग्रेसले नेतृत्व गरेको स्मरण गराउँदै अहिलेको राजनीतिक संक्रमणबाट देशलाई मुक्त गराउनका लागि पनि कांग्रेसले बहुमत ल्याउनु पर्ने बताउनुभयो । कार्यक्रममा कांग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईं, जिल्ला सचिव माधव ढकाललगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा ३० वर्ष काम गरेका शिक्षकहरु, नवप्रवेशी शिक्षकहरु लगायतलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा उपस्थितहरुलाई नेपाल शिक्षक संघ काभ्रेका उपाध्यक्ष रुपा थापाले स्वागत गर्नुभएको थियो भने शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भुप्रसाद घिमिरेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *