- ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको संख्या यसवर्ष पनि बढी देखिएको छ । गतवर्ष पनि यो संख्या उच्च नै थियो ।
कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ३ हजार ८५४ नयाँ नागरिकता जारी गरिएको छ । जसमा साउन महिनामा ८४४ नागरिकता जारी भएका छन् । भदौमा ५३८, असोजमा ४६२, कात्तिकमा ६८६, मंसिरमा ९२९ र पुसमा ४२८ वटा नागरिकता जारी भएको छ । यही अवधिमा नागरिकताको प्रतिलिपी लिनेको संख्या ५ हजार ४९२ छ । साउनमा १ हजार १७४, भदौमा १ हजार ४२, असोजमा ५४४, कात्तिकमा ८५६, मंसिरमा ९३६ र पुसमा ९७२ वटा नागरिकताका प्रतिलिपी जारी भएका छन् ।
पुरानो हस्तलिखित नागरिकता खुइलिने र बिग्रने गरेका र सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यसका लागि आउनेहरु बढ्दै गएका कारण कतिपय पुरानो नागरिकतामा त्रुटीहरु फेला परेका छन् । जसले गर्दा पछिल्ला केही महिनायता नागरिकताको प्रतिलिपी लिनेहरु बढेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । पहिले गाउँमा टोली गएर बनाएका नागरिकतामा कतै उमेर, कतै थर र कतै नामै गल्तीहरु पाइएका छन् । यी गल्तीहरु सुधार गर्नुपर्दा प्रतिलिपी लिनेहरुको संख्या बढेको हो ।
गत साउनदेखि मंसिरसम्मको अवधिमा नागरिकता परित्याग गर्नेको संख्या २५ रहेको छ भने सोही अवधिमा गैरआवासीय नागरिकता १८ वटा जारी भएको छ । चार वटा नागरिकता रद्द र एउटा अंगिकृत नागरिकता जारी गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक वर्षको पुससम्ममा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिनेको संख्या १५ हजार ५०६ रहेको छ । साउन महिनामा मात्र यो संख्या ३ हजार ४५३ रहेको थियो । भदौमा २ हजार ८९७, असोजमा १ हजार ९६२ जनाले आवेदन दिएका थिए भने कात्तिकमा २ हजार २९२ जनाले आवेदन दिएका छन् । मंसिरमा २ हजार ७८९ जना र पुसमा २ हजार २४८ ले आवेदन दिएका थिए । यही अवधिमा ४ हजार ३५ वटा कार्ड वितरण भएका छन् । दलित र जनजाती परिचयपत्र २५० वटा जारी भएका छन् ।
यस्तै ६ हजार ६२५ वटा राहदानीको आवेदन दर्ता भएको प्रशासनमा ५ हजार २९७ कार्ड वितरण भएको छ । ६ महिनामा नाबालक परिचयपत्र ३२६ वटा जारी भएको प्रशासन कार्यालयले जनाएको छ । यसैगरि ६० वटा मुद्दा दर्ता भएका छन् भने २६ वटा फस्र्याैट भएका छन् । यस्तै ठाडो उजुरी ८६ वटा दर्ता हुँदा ७६ वटा फस्र्याैट भएका छन् । कार्यालयमा यसवर्ष १० वटा नयाँ संघसंस्था दर्ता भएका छन्, १२४ वटा नवीकरण भएका छन् भने ५ वटा हातहतियार नवीकरण भएका छन् ।
यसैगरि कार्यालयबाट कारागार निरिक्षण तीन पटक, सरकारी कार्यालय अनुगमन २३ पटक, प्रहरीलगायत सुरक्षा निकायको अनुगमन १२ पटक, विकास आयोजना अनुगमन ९ पटक र संघसंस्था अनुगमन ३५ पटक गरिएको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
यसबीचमा जिल्ला सुरक्षा समितिको बैठक ३० पटक बसेको छ भने जिल्ला विपद् व्यवस्थापनसँग सम्बन्धित बैठक ४ पटक बसेको छ । कार्यालयले शहीद परिवार, द्वन्द्व पीडित परिवार र वैदेशिक रोजगार पीडित परिवारलाई ६८ लाख ५४ हजार ८३ रुपैयाँ राहत वितरण गरेको छ । विपदमा परेकाहरुका लागि अहिलेसम्म कुनै पनि राहत वितरण गरिएको छैन ।
यो समय अवधिमा कार्यालयले कूल ३ करोड ५४ लाख ४० हजार ५३९ रुपैंयाँ राजश्व संकलन गरेको छ । चालु खर्च १ करोड ४५ लाख ९१ हजार ९२७, पूँजीगत ७ लाख १० हजार ८८० र विविध खर्च ३ करोड ३४ लाख ८९ हजार ८३ रुपैयाँ भएको छ । धरौटी विवरणबाट आम्दानी ३ करोड ३७ लाख ८३ हजार ३८३ प्राप्त भएको छ । धरौटी फिर्ताबापत ६ लाख ३९ हजार २४१ दिइएको छ । विशिष्ठ व्यक्तिको भ्रमण १७५ पटक भएको छ ।
यसैगरि जिल्लाभर ३७९ वटा आपराधिक घटना भएका छन् । यस्ता घटनामा संलग्न ३३३ जना पक्राउ परेका छन् । जसमा ३ जनाको हत्या हुँदा ४७ वटा आत्महत्याका घटना भएका छन् भने प्राकृतिक प्रकोपका घटना ८ वटा भएका छन् । जसमा ७ जनाको मृत्यु भएको र ७ जना घाइते भएको कार्यालयले उल्लेख गरेको छ । सवारी दुर्घटनामा १० जनाको मृत्यु र १६२ जना घाइते भएका छन् ।
यसैगरि १६९ वटा पसल र फर्मको अनुमगन भएको र ४ वटालाई जरिवाना र कारबाही गरिएको छ । जरिवानाबापत ३५ हजार संकलन भएको छ । ४२ वटा फर्म र पसलबाट सामान जफत गरिएको र जसको मूल्य २ लाख ४ हजार ४१७ रहेको पनि कार्यालयले जनाएको छ । यस अवधिमा कार्यालयले ७ वटा ड्रोन उडान अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित गर्न गत जेठ २७ गतेबाट डिजिटल टोकन प्रणाली शुरु गरेको छ ।
यसैबीच प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो र सहज बनाउन प्रयास गरिने बताउनुभएको छ । उहाँले शान्ति सुरक्षा र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिने बताउनु भयो । आफू काभ्रेमा आएको तीन महिना मात्रै भएको अवस्थामा पनि धेरै विषयहरुमा सुधार गरिएको उहाँको भनाइ छ । यसपटकको निर्वाचनमा विशेष सुरक्षा रणनीति बनाइएको पनि अधिकारीले जानकारी दिनुभयो ।
