काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ सिर्जना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ३२ ग्राम ५ सय ३० मिलिग्राम र डिजिटल तराजु १ थानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका–९ घर भएका २८ वर्षीय मनिक तामाङ, महोत्तरी बर्दिबास नगरपालिका–८ घर भएका ३४ वर्षीय मनोज लामा र सिरहा मिर्चैया नगरपालिका–५ घर भएका ३४ वर्षीय अनिल साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता कैलाली, लम्कीचुहा नगरपालिका–१ रोरा पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय तिलकराज बजगाईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *