बनेपा । “रेडक्रसको गरिमालाई अगाडि बढाउन जिम्मेवारका साथ लाग्नुस् म तपाईंहरुको साथमा सँगसँगै हिँड्नेछु ।” उक्त कुरा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको ४९औं सभाको उद्घाटनको क्रममा शनिबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले भन्नुभएको हो । उहाँले रेडक्रसलाई राजनीतिबाट मुक्त राख्नसके रेडक्रसमा सहयोग गर्नेहरुको घुइँचो लाग्ने बताउनुभयो ।

सोही अवसरमा प्रदेश सांसद सोना परियारले विद्यार्थीकालमा जात्रा–मात्रा परेको बेलामा जेसिजको सदस्य हुँदा नै रेडक्रसको चन्दाबक्सामा सहयोग उठाएर दिएको स्मरण गर्दै बागमती प्रदेश सरकारको तर्फबाट रेडक्रसलाई सघाउनुपर्नेमा कुनै कञ्जुस्याईं नगर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति देवेन्द्रप्रसाद भैलले ब्लड बैंकको लागि २ करोड अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएकोमा हालसम्म ४२ लाख ६० रकम संकलन भएको जानकारी दिनुभएको थियो । भैलले सबै पालिकामा रेडक्रसले अनुरोध गरी माग गरेअनुसार काभ्रे जिल्लाको दुई अस्पताल धुलिखेल र मेथिनकोट, बेथानचोक, धुलिखेल, बनेपा, पाँचखाल र मण्डनदेउपुरबाट आफ्ना नागरिकहरुलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता भइसकेको बताउँदै काभ्रेका विन्धवासिनी साकोस, सामुदायिक साकोस र ज्योति मिर्मिरे साकोससँग पनि आफ्ना शेयर सदस्यहरुलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता गरिएको उल्लेख गर्नुभयो ।

सोही अवसरमा काभ्रे जिल्लाका ३४ उपशाखाबाट आफ्ना क्रियाकलापहरु पठाउन पत्राचार गरिएकोमा १३ वटा उपशाखाले मात्र फारम उपलब्ध गराउनुभएकोले सोही बमोजिम वर्गीकरण गर्दा पनौती उपशाखा प्रथम, मंगलटार उपशाखा दोस्रो र खोपासी उपशाखा तेस्रो भई नगद तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष हिटलर शाक्यले बनेपा नगरपालिका वडा नं. ७ को तर्फबाट १ लाख १५ हजार बराबरको सामग्री हस्तान्तरण र बेथानचोक नारी चेतना केन्द्रकी कोषाध्यक्ष शान्ति खत्रीबाट २ वटा रक्तदान चियर प्रदान गर्नुभएको थियो ।

सोही क्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव रामजी पौडेल, भक्तपुर शाखाका जिल्ला सभापति परशुराम पाण्डे, पूर्व सभापति श्यामसुन्दर श्रेष्ठ, बनेपा वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

रेडक्रस काभ्रेका उपसभापति ज्ञानबहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने उपमन्त्री प्रदीप केसीले धन्यवाद ज्ञापनको क्रममा अब जिल्लामा १३ वटा पालिकाहरुमा तदर्थ समिति गठन गरी निर्वाचन प्रक्रिया हुँदै गरेकाले रेडक्रसकर्मीहरुले राजनीतिक आस्था त्यागी रेडक्रसमा सेवाभावले लाग्न अनुरोध गर्नुभएको थियो ।

शनिबार सम्पन्न सभा शाखा सभापति देवेन्द्रप्रसाद भैलको सभापतित्वमा भएको थियो। मन्त्री राजु सिग्देलले सभा सञ्चालन, कोषाध्यक्ष प्रेमकुमार तामाङले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने उपसभापति पुष्पा खड्काले विशिष्ट सदस्यता प्राप्त गर्ने व्यक्तिहरुको प्रमाणपत्र वाचन र रेडक्रसका सात सिद्धान्त कार्यसमिति सदस्य शान्ति खत्रीले वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *