रोशी । काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका र रोशी गाउँपालिकामा शान्ति सुरक्षा सुदृढ गर्दै आम नागरिकलाई सुरक्षित वातावरणको अनुभूति गराउने उद्देश्यले इलाका प्रहरी कार्यालय मंगलटारले दुई दिने लामो दूरी सुरक्षा गस्ती सञ्चालन गरेको छ ।
श्रावण ९ र १० गते सञ्चालन गरिएको उक्त विशेष गस्ती कार्यक्रमअन्तर्गत प्रहरी टोलीले ग्रामीण तथा दुर्गम बस्तीहरूमा पुगेर सुरक्षा अवस्थाको अनुगमन गर्नुका साथै सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा विशेष निगरानी राखेको थियो । समाजमा हुन सक्ने चोरी, ठगी, लुटपाट, बोधिचित्त मालाको सुरक्षा तथा अन्य अवाञ्छित गतिविधि रोकथामका लागि प्रहरीको उपस्थिति प्रभावकारी बनाइएको जनाइएको छ ।
प्रहरीले गस्तीका क्रममा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै गाउँघरको वस्तुस्थिति बुझ्ने, समुदायसँगको सम्बन्ध थप मजबुत बनाउने तथा आवश्यक सुरक्षा सूचना संकलन गर्ने कार्य पनि गरेको थियो ।
यस अवसरमा मानव बेचबिखन नियन्त्रण, आत्महत्या न्यूनीकरण, बालविवाह, बहुविवाह, घरेलु हिंसा, बाल यौन दुव्र्यवहार, लैङ्गिक हिंसा, अवैध मदिरा उत्पादन तथा बिक्री–वितरण, तेजाब दुरुपयोग, विभिन्न प्रलोभनमा पारेर गरिने ठगी लगायतका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, नवप्राकृतिकवादी प्रहारलगायतका शंकास्पद गतिविधिमाथि निगरानी बढाउनुका साथै समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सुरक्षा सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
प्रहरीका अनुसार यस्ता कार्यक्रमले ग्रामीण तथा दुर्गम क्षेत्रमा प्रहरीको पहुँच विस्तार हुनुका साथै अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम राख्न र नागरिकमा सुरक्षा विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
