ज्ञानमणि नेपाल कालोटोपी
मण्डनदेउपुर । ‘स्वस्थ जीवन, सुरक्षित भविष्य’ भन्ने नाराका साथ मण्डनदेउपुर नगरपालिकाले शुक्रबार नगरका १२ वटै वडाका स्थानीयवासीलाई अनुदानमा इन्डक्सन चुल्हो वितरण गरेको छ । नगरपालिकाका प्रवक्ता पुरुषोत्तम बजगाईंका अनुसार नगरपालिकाले कुल २ हजार ६३८ वटा इन्डक्सन चुल्हो प्रति चुल्हो ६२० रुपैयाँमा वितरण गरेको हो ।

कार्यक्रम नगर प्रमुख टोकबहादुर वाइवाको अध्यक्षतामा सम्पन्न भएको थियो भने नगर उपप्रमुख विष्णुमणि नेपाल विशेष अतिथि रहनुभएको थियो । कार्यक्रममा नगरपालिकाका प्राविधिक उमेश अधिकारीले इन्डक्सन चुल्हो सञ्चालनसम्बन्धी प्राविधिक जानकारी दिनुभएको थियो । उहाँले इन्डक्सन चुल्होमार्फत ग्यासको तुलनामा करिब ६५ प्रतिशत कम खर्चमा खाना पकाउन सकिने जानकारी दिनुभयो ।

नगरपालिकाले यसअघि विभिन्न लक्षित समूहका लागि वडा कार्यालयमार्फत निवेदन आह्वान गरी चुल्हो वितरणको प्रक्रिया अघि बढाएको जनाएको छ । कार्यक्रममा नगरपालिकाको नीति तथा योजना आयोगका उपाध्यक्ष गोकुल गौतमले इन्डक्सन चुल्होको प्रयोग र यसको स्वास्थ्य, वातावरण तथा आर्थिक फाइदाबारे जानकारी गराउनुभयो । त्यसैगरी आयोगका सदस्य कश्यप पौडेलले विद्युतीय चुल्होको इतिहास, विकासक्रम र वर्तमान आवश्यकता सम्बन्धमा चर्चा गर्नुभयो ।

नगर उपप्रमुख विष्णुमणि नेपालले नगरपालिकाले स्वच्छ वातावरण निर्माणका लागि सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमबारे जानकारी दिँदै इन्डक्सन चुल्हो सञ्चालनमा कुनै समस्या आए नगरपालिकाका प्राविधिकसँग सम्पर्क गरी आवश्यक परामर्श लिन आग्रह गर्नुभयो ।नगर प्रमुख टोकबहादुर वाइवाले विगतको दाउरा प्रयोग गर्ने जीवनशैली स्मरण गर्दै समयसँगै प्रविधिको विकासले नागरिकको दैनिकी परिवर्तन भएको उल्लेख गर्नुभयो । उहाँले अब विस्तारै ग्यासको प्रयोग घटाउँदै विद्युतीय चुल्होको प्रयोग बढाउन नागरिकलाई अनुरोध गर्नुभयो ।

इन्डक्सन चुल्हो प्राप्त गरेका स्थानीयवासीले नगरपालिकाको पहलप्रति खुशी व्यक्त गर्दै नयाँ प्रविधिको प्रयोग सिकेर दैनिक जीवनमा अपनाउने बताएका छन् । उनीहरूले भने, ‘समयले ल्याएको परिवर्तन हो, यसलाई चलाउन सिक्छौँ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *