बनेपा । काभ्रेपलाञ्चोक प्रहरीले बनेपा नगरपालिका–६ बुडोलडाँडा क्षेत्रमा तास (जुवा) खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार साउन १७ गते साँझ करिब ६ः०० बजे बनेपा–६ स्थित हाइवे सेकुवा कर्नर तथा थकाली रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

प्रहरीले तास खेलिरहेका ६ जना र होटल सञ्चालक १ जनासहित ७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । घटनास्थलबाट एक बुक तास र नगद रु. ९० हजार ३४५ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–१ घर भई हाल बनेपा–६ बस्दै आएका होटल सञ्चालक सन्तोष तिमिल्सिना तथा तेमाल गाउँपालिका–२ का पासाङ तामाङ, कुनसाङ तामाङ, रूपेश रानामगर, कुलबहादुर मगर, सुजन नेपाली र धनबहादुर घिताल रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय बनेपामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *