धुलिखेल । काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेको नेतृत्वमा बुधबार धुलिखेल बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेल, धुलिखेल उद्योग वाणिज्य संघ, धुलिखेल होटल व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक तथा नेपाल पत्रकार महासंघ काभ्रेका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

टोलीले धुलिखेल बजारको सञ्जीवनी चोक, हस्पिटल चोक र मयुर बसपार्क क्षेत्रका होटल, किराना पसल, फलफूल पसल तथा खाद्य पदार्थ बिक्री–वितरण गर्ने विभिन्न व्यवसायहरूको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोककी प्रशासकीय अधिकृत सुनिता थापाले जानकारी दिनुभयो ।

बुधबार जुस पसल २, होटल २५ वटा, पाउँ भण्डार एक, किराना पसल २ वटा गरि ३० वटा पसल अनुगमन गरिएको छ । ती पसलबाट करिब ७ हजार रुपैयाँ बराबरको म्याद सकिएको सामान नष्ट गरिएको छ । अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन गरिएका ५ वटा पसल फेला परेका छन् । साथै केही पसलमा म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखिएको तथा केही होटलका भान्सा फोहोर अवस्थामा रहेको उद्योग वाणिज्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रविन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित व्यवसायीहरूलाई तत्काल गुणस्तर सुधार गर्न निर्देशन दिइएको छ ।

आगामी दिनमा ग्यास डिपो तथा पेट्रोल पम्पमा समेत अनुगमन गरिने योजना रहेको उहाँले बताउनुभयो । विषयगत कार्यालयहरूले हरेक महिना कम्तीमा चार पटक वा आवश्यकता अनुसार नियमित अनुगमन गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलकी प्रमुख मनिषा चापागाईंले उपभोक्ता हित संरक्षण तथा खाद्य गुणस्तर कायम गर्न यस्ता संयुक्त बजार अनुगमन आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *