बनेपा । काभ्रेपलाञ्चोकका नागरिकलाई सहज रूपमा आँखाको उपचार सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला सहकारी संघ लि., काभ्रे र रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाबीच सहकार्यका लागि सम्झौता भएको छ ।

सम्झौताअनुसार जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी मोतियाविन्दुका बिरामीको पहिचान तथा उपचारमा सहयोग पुर्‍याइनेछ । शिविरका क्रममा मोतियाविन्दु पहिचान भएका बिरामीलाई आवश्यकताअनुसार थप उपचार तथा शल्यक्रियाका लागि अस्पतालसम्म पुर्‍याउन सहजीकरण गरिनेछ ।

आर्थिक अवस्था कमजोर भएका तथा आँखाको उपचारमा सहज पहुँच पुग्न नसकेका नागरिकलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताइएको छ । यसबाट मोतियाविन्दुका कारण दृष्टिसम्बन्धी समस्या भोगिरहेका जिल्लावासीलाई समयमै उपचारको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई स्वास्थ्य सेवासँग जोड्दै गरिएको यस सहकार्यले जिल्लाका विभिन्न समुदायमा आँखासम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै उपचार सेवाको पहुँच विस्तारमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकले समयमै आँखाको परीक्षण र उपचार पाउने वातावरण निर्माण गर्न यो सहकार्य महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *