बनेपा । गौतम बन्धु राष्ट्रिय समाज काभ्रेको जिल्ला भेला तथा प्रथम अधिवेशन बनेपास्थित गौतम भिलेज रिसोर्टमा गत शनिबार सम्पन्न भएको छ । अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
कार्यक्रमको सभापतित्व गौतम बन्धु राष्ट्रिय समाज वागमती प्रदेशका सभापति बिदुर गौतमले गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा पूर्वउपप्रधानमन्त्री एवं पूर्वगृहमन्त्री वामदेव गौतम सहभागी हुनुभएको थियो । कार्यक्रममा गौतम बन्धु राष्ट्रिय समाजका केन्द्रीय अध्यक्ष शोभाकर गौतम विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री गौतमले गौतम बन्धुहरू आफ्नो संस्कृति, पहिचान र परम्पराको संरक्षणका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । आफू भौतिकवादी भए पनि संस्कृति र पहिचानको रक्षा गर्नु सबै गौतम बन्धुको दायित्व भएको उहाँको भनाइ थियो । हामीले आफ्नो संस्कृति र पहिचानलाई जोगाउनुपर्छ । यसका लागि गौतम बन्धुहरू एक भएर लाग्न आवश्यक छ, उहाँले भन्नुभयो । उहाँले सामाजिक एकता र आपसी सहकार्यलाई मजबुत बनाउँदै पुर्खाबाट प्राप्त संस्कार, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संस्थाका संस्थापक बिदुर गौतम, दिनानाथ गौतमलगायत विभिन्न जिल्लाबाट आएका गौतम बन्धुहरूको सहभागिता रहेको थियो ।
यस्तो बन्यो नयाँ कार्यसमिति
प्रथम अधिवेशनबाट जयभद्र गौतमको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा तोरणप्रसाद गौतम र झम्कप्रसाद गौतम, सचिवमा यदूनाथ गौतम तथा कोषाध्यक्षमा सुरेश गौतम चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा नन्दीप्रसाद गौतम, रामचन्द्र गौतम, एक लक्ष्मी गौतम, माधवप्रसाद गौतम, रम्भाकुमारी गौतम, रामचन्द्र गौतम, राजन गौतम, परशुराम गौतम, डोरनाथ गौतम र लेखनाथ गौतमलगायत चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिले काभ्रेमा रहेका गौतम बन्धुहरूबीच आपसी सम्बन्ध, एकता र सहकार्य विस्तार गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । अधिवेशनले गौतम बन्धुहरूको साझा पहिचान, संस्कृति तथा परम्पराको संरक्षणसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य लिएको जनाइएको छ ।
