काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार र राहतका लागि धुलिखेल नगरपालिका–८ ले १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

वडा समितिको २०८३ भदौ ११ गते बसेको बैठकले महिला लक्षित कार्यक्रमअन्तर्गत तीज कार्यक्रमका लागि विनियोजित रकमबाट १ लाख रुपैयाँ विपद् प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

वडाले उक्त रकम धुलिखेल नगरपालिका हुँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी आवश्यक बजेटरी तथा प्रचलित कानुनी प्रक्रिया पूरा गरेर उपलब्ध गराउन नगरपालिकालाई अनुरोध गरेको छ ।

भोटेकोशी क्षेत्रमा भएको प्राकृतिक विपद्का कारण देश नै शोकमा डुबेको अवस्थामा उद्धारको प्रतीक्षामा रहेका नागरिक, घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचार, जीवनरक्षा र आश्रयका साथै बेपत्ताहरूको खोजी कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको वडा अध्यक्ष विनोद गौतमले जनाएका छन् । वडाले विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहत कार्यमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *