रोशी । आसन्न चाडपर्वका बेला यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्ने उद्देश्यले काभ्रेको मंगलटारमा यात्रु सहायता कक्ष स्थापना गर्नुका साथै ‘म दुर्घटना गर्दिनँ’ हस्ताक्षर अभियान सञ्चालन गरिएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारको आयोजनामा चाडपर्वलक्षित यात्रु सहायता कक्ष स्थापना तथा ‘डिसिप्लिन ड्राइभिङ’ (अनुशासित सवारी सञ्चालन) सम्बन्धी हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले यात्रु सुरक्षा, ट्राफिक नियमको पालना, बढी भाडा असुली नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरणलाई अभियानले प्राथमिकता दिएको छ ।
यात्रु सहायता कक्षमार्फत यात्राका क्रममा यात्रुले भोग्नुपर्ने समस्या, बढी भाडा असुली तथा अन्य गुनासो सम्बोधनमा सहजीकरण गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, ‘म दुर्घटना गर्दिनँ’ हस्ताक्षर अभियानले चालकलाई जिम्मेवार र अनुशासित भएर सवारी चलाउन प्रेरित गर्ने लक्ष्य राखेको छ ।
नेपाल प्रहरीले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गति नियन्त्रण गर्न तथा जिम्मेवार भएर सवारी चलाउन सबै चालकलाई आग्रह गरेको छ । ‘सुरक्षित यात्रा, जिम्मेवार चालक—नागरिकको सेवामा नेपाल प्रहरी’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले चाडपर्वको समयमा यात्रुलाई सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *