बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औँ वार्षिक साधारण सभा आगामी असोज २४ गते आयोजना गर्ने भएको छ । संस्थाको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले सो दिन साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
संस्थाले जारी गरेको सूचनाअनुसार सहकारी संस्थाको साधारण सभा -कार्य व्यवस्था) निर्देशिका, २०७६ -संशोधित २०७७) बमोजिम विभिन्न एकाइ बैठकमार्फत साधारण सभा सञ्चालन गरिनेछ । संस्थाले सम्पूर्ण शेयर सदस्यहरूलाई आफूलाई पायक पर्ने एकाइ बैठकमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ ।
साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ । साथै आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, लाभांश तथा संरक्षित पूँजी फिर्ता कोष वितरणसम्बन्धी प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ ।
त्यसैगरी विनियम, आन्तरिक कार्यविधि तथा नीति संशोधन, स्थिरीकरण कोषमा सहभागिता, संस्थाको जग्गा तथा भवन निर्माण, आर्थिक सुरक्षा कार्यक्रम, औसत शेयर व्यवस्थापन तथा अन्य विशेष प्रस्तावमाथि समेत छलफल हुने जनाइएको छ । संस्थाका अनुसार मुख्य कार्यालय तथा बनेपा जनमैत्री सेवा केन्द्र, टुकुचा जागरण सेवा केन्द्र, धुलिखेल सेवा केन्द्र र पाँचखाल सेवा केन्द्रमा आबद्ध सदस्यहरूका लागि छुट्टाछुट्टै एकाइ बैठकको व्यवस्था गरिएको छ ।

साधारण सभा अन्तर्गत सदस्यहरूको नाम दर्ता असोज १८ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित कार्यालयहरूमा गरिनेछ भने मुख्य एकाइ बैठक असोज २४ गते दिउँसो २ बजेदेखि ४ बजेसम्म होटल उग्रचण्डी, बनेपामा आयोजना हुने संस्थाले जनाएको छ । संस्थाले शेयर सदस्यहरूलाई समयमै उपस्थित भई साधारण सभा सफल बनाउन सहयोग गर्न अनुरोध गरेको छ ।
भोटेकोशी बाढीपीडितका लागि २ लाख ५१ हजार सहयोग
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपा–६, काभ्रेले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।
संस्थाका अनुसार बाढी तथा अन्य विपद्का कारण प्रभावित नागरिकको सहयोगका लागि सरकारले आह्वान गरेको सहयोग अभियानमा ऐक्यबद्धता जनाउँदै उक्त रकम प्रदान गरिएको हो । सहकारीले सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी तथा संस्थाको संयुक्त योगदानबाट उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको जनाएको छ ।
संस्थाका अध्यक्ष कैलाश के.सीद्वारा जारी विज्ञप्तिमा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै बेपत्ताहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।
सहकारीले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएकाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको जनाएको छ । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यो सहयोगले विपद्बाट प्रभावित परिवारको उद्धार तथा राहतमा केही भए पनि योगदान पुग्ने विश्वास लिएको छ ।
