काभ्रे । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि काभ्रेको खानीखोला गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । खानीखोला गाउँपालिकाले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खालगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले जारी गरेको राहत सहयोग घोषणामा प्राकृतिक विपत्तिबाट कयौँ परिवारले आफ्ना प्रियजन गुमाउनुका साथै घरबारविहीन हुनुपरेको र परिवारमा अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । बाढीका कारण आफ्नो आफन्त, परिवारजन तथा अभिभावक गुमाएका परिवारको पीडाप्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । विपद्को कठिन घडीमा एक–अर्कालाई सहयोग गर्नु र मानवीय कर्तव्य निर्वाह गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै गाउँपालिकाले बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
गाउँपालिकाले विपत्तिका कारण पीडामा रहेका नागरिकका लागि तत्काल राहत, स्वास्थ्य, सुरक्षा तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सरकार, सुरक्षा निकाय, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा सम्पूर्ण नागरिकबीच सहकार्य र एकताका लागि आह्वानसमेत गरेको छ । साथै, बाढीबाट प्रभावित सम्पूर्ण नागरिकमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस्, प्रभावित परिवारमा शीघ्र स्वास्थ्यलाभ, पुनर्स्थापना तथा सामान्य जनजीवनमा फर्किने वातावरण निर्माण होस् भन्ने कामना गाउँपालिकाले गरेको छ।
राहत सहयोगसम्बन्धी निर्णयमा खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ, उपाध्यक्ष दोर्जेमान जिम्बा तथा प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालाले हस्ताक्षर गरेका छन् ।
