काभ्रे । बनेपाको बुडोलमा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक वचत तथा ऋण सहकारीले २६ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बुधबार बनेपामा आयोजित एक समारोहका बीच संस्थाले आफ्नो २६ औं बार्षिकोत्सव सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष कैलाश केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । सहकारीलाई स्थानीय तहमै दर्ता गर्न दिनुपर्ने र यसको निगरानी केन्द्र सरकारले गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकारले हालै ल्याएको सहकारी अध्यादेशमा धेरै त्रुटीहरु रहेको र यो आम सहकारीकर्मी तथा नागरिकको हितविपरित रहेकाले संशोधन गर्नुपर्ने बताउनुभयो । यसका लागि आफूहरुले दबाब दिइरहेको मल्लको भनाइ थियो ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. प्रमुख कार्यकारी अधिकृत डा शिवजी सापकोटा र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि।का बरिष्ठ उपाध्यक्ष जिबसराज खड्का लगायतले सहकारी क्षेत्रका समस्या, अध्यादेश तथा अन्य विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।
संस्थाले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षसम्म संस्थाका सदस्य २६ हजार ६५५ जना रहेका छन् । शेयर पुँजी १६ करोड ५७ लाख ५६ हजार ७०० रुपैयाँ रहेको छ भने संस्थागत पुँजी १६ करोड ६२ लाख ५ हजार ५७८ रहेको छ । यसैगरि बचत रकम १ अर्ब ५८ करोड ५ लाख ३३ हजार ३८५ रहेको छ । ऋण सुरक्षण कोष ४ करोड ८ लाख ४२ हजार ८११, ऋण लगानी १ अर्ब ३५ करोड ६१ लाख ३९ हजार ३७१ रहेको कार्यक्रममा जानकारी दिइयो । कूल सम्पत्ती २ अर्ब ७६ लाख ८२ हजार १११ रहेको संस्था हाल ५ करोड ६२ लाख ८१ हजार ५२ रुपैयाँ नाफामा रहेको छ ।
जिल्लामा नमूना कारोबार गरी सदस्यहरुको विश्वास जित्न सफल रहेको बुडोल सामुदायिक सहकारीमा आवद्ध सदस्यहरु आयआर्जन तथा आर्थिक उपार्जन र स्वरोजारमा केन्द्रित छन् । कार्यक्रममा उपस्थितहरुले बुडोल सामुदायिकले काभ्रेपलाञ्चोक जिल्लामा रहेर सहकारी क्षेत्रमा पुर्याएको योगदान तथा सदस्य केन्द्रित कारोबारको खुलेर प्रशंशा गरेका थिए ।
संस्थामा आवद्ध सदस्यहरु मध्ये क र ख श्रेणीको अपाङ्गता परिचय पत्र प्राप्त गरेका १५ जना सदस्यहरुलाई सहयोग उपलब्ध गराउने कार्यक्रम घोषणा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिनुभयो । कार्यक्रममा दीर्घसेवा पदक तथा सम्मानबाट अधिकृत इन्दिरा कार्कीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारी सम्मानबाट बरिष्ठ सहायक सागर कुँबरलाई सम्मान गरिएको थियो । सहकारीले यसै वर्षदेखि विशेष क्षमता भएका सदस्यलाई सहयोग घोषणा गरेको छ ।
सोहि अवसरमा नेपाल पत्रकार महासंघ काभ्रे शाखामा निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामनासहित सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका संचालकहरु, उपसमितिका पदाधिकारीहरु, शेयर सदस्यहरु तथा कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

